अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सफल परीक्षण सफल भएको छ । खोपको पहिलो चरणको नतिजा सकारात्मक आएपछि अनुसन्धानकर्ताहरु उत्साहित भएका छन् । दोश्रो चरणको पनि परीक्षण सकिएको छ भने नतिजा आउन बाँकी छ । अमेरिकाको ‘बायोटेक्नोलोजी’ कम्पनी मोडर्नाले खोप तयार पारिएको हो । खोपको नाम ‘एमआरएनए–१२३७’ राखिएको छ ।
त्यहाँको ‘नेशनल इन्स्टिच्युट अफ हेल्थ’ सँगको सहकार्यमा खोप तयार भएको मोडर्नाले जनाएको छ । कम्पनीले खोप मानव शरीरमा प्रतिरोधी क्षमता बढाउन सफल देखिएको दाबी गरेको छ । ‘खोपको परीक्षणबाट हामी उत्साहित भएका छौं’, अध्ययनमा संलग्न डा. लिसा ज्याक्सनले भनिन्, ‘पक्कै पनि यो कोभिड–१९ विरुद्धको पहिलो खोप हुनेछ ।’ तर, त्यसको केही ‘साइड इफेक्ट’ भने देखिएको छ ।
खोप लगाएको ठाउँमा दुख्ने तथा थकान महसुस हुने तथा टाउको भारी हुने समस्या देखिएको छ । आगामी जुलाई अन्तिममा तेश्रो चरणको परीक्षण गर्ने तयारी कम्पनीको छ । मोडर्नाले यो कोभिड–१९ विरुद्धको पहिलो खोप हुने दाबी गरेको छ । कम्पनीले वार्षिक ५० करोड डोज खोप उत्पादन गर्ने लक्ष्य राखेको छ ।