बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।सप्तरीको राजविराज नगरपालिका–६ निवासी एक व्यापारी ७३ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । उनको उपचार धरानमा भएको र स्वाब परीक्षण पनि धरानमै गरिएको जनाइएको छ । उनी भारतको विभिन्न व्यापारिक सहरमा व्यापारको लागि आउजाउ गर्ने गरेको बुझिएको छ ।
उनको गएराति मृत्यु भएको हो । उनको शव अहिले प्रतिष्ठानको शव गृहमा डेडबडी डिस्पोजेवल व्यागमा सुरक्षित राखिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।
उनलाई बीपीमा असार ३१ गते उपचारका लागि इमेरजेन्सीमा ल्याइएको थियो । उनमा मुटु रोग, उच्च रक्तचाप र मधुमेह पनि रहेकोले उनी गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएको र हिजो प्रतिष्ठानको आइसोलेसनमा सारिएको थियो । उनको राति मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाले जानकारी दिएका छन् ।
प्रदेश २ सप्तरीका भए पनि प्रदेश १ मा पहिलो व्यक्ति उपचारको क्रममा मृत्यु भएको यो पहिलो घटना हो । शवलाई कसरी व्यवस्थापन गर्ने भनेर अहिले समन्वय भइरहेको बताईएको छ ।स्वास्थ्य कार्यालय सप्तरीका अनुसार उनी सप्तरीको कुनै क्वारेनटाइनमा बसेको रेर्कड नभएको बताइएको छ । उनको कोरोना परीक्षण पनि धरानमै भएको बताइएको छ ।