नेपालबाट ३६ वर्षअघि चोरिएको मूर्ति अमेरिकी सरकारले अमेरिकाका लागि नेपाली राजदूत डा युवराज खतिवडालाई हस्तान्तरण गरेको छ ।
नेपालबाट चोरेर अवैधरुपमा अमेरिका पुर्याइएको लक्ष्मीनारायण पनि भनिने वसुदेव–कमलाजाको मूर्ति अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) का उपसहायक निर्देशक टिमोथी एन. ड्युनह्यामले शुक्रबार वासिङ्टनस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा उक्त प्राचीन मूर्ति हस्तान्तरण गरेको हो ।
दूतावासका अनुसार सो मूर्ति पाटनस्थित एक मन्दिरको ऐतिहासिक मूर्ति हो । त्यसलाई अमेरिकामा पुर्याई ड्यालस म्युजियम अफ आर्ट्स टेक्सासमा सन् १९९० देखि प्रदर्शन गरेर राखिएको थियो । वसुदेव–कमलजाको मूर्तिमा विष्णु र देवी लक्ष्मीलाई प्रतीकात्मकरुपमा देखाइएको छ । ३३.५ इन्च उचाई र १९.२५ इन्च चौडाई रहेको सो मूर्ति नेपालको मध्यकालीन अवस्थामा बनेको अनुमान गरिन्छ । सो मूर्तिलाई अब युनेस्कोको महासन्धि लगायतका आवश्यक प्रावधान तथा अन्य उचित प्रक्रिया पुरा गरी नेपाल पुर्याइने दूतावासले जनाएको छ।