एजेन्सी - इंग्ल्यान्डले पहिलो टि २० खेलमा घरेलु टोली भारतलाई ८ विकेटले हराउँदै सानदार जित निकालेको छ । शुक्रबार राती सम्पन्न पहिलो खेलमा भारतलाई हराउँदै इंग्ल्यान्डले पाँच टि २० आई सिरिजमा १ - ० को अग्रता लिएको छ । जितको लागि १ सय २५ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १५।३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
इंग्ल्यान्डका ओपनर जेसन रोय ३२ बलमा ४ चौका र ३ छक्का सहित ४९ रनमा आउट भए । अर्का ओपनर जस बटलर २४ बलमा २ चौका र १ छक्का सहित २८ रनमा आउट भए । पहिलो विकेटका लागि जेसन रोय र जस बटलरले ८ ओभरमा ७२ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएपछि इंग्ल्यान्डजले सहज जित हात पारेको हो । वासिन्टन सुन्दरको १२ औं ओभरको पहिलो बलमा एलबिडब्लू आउट भएपछि रोय अर्धशतक बनाउन एक रनले चुके ।
जोनी बेयरस्टो १७ बलमा १ चौका र २ छक्का २६ सहित रनमा अविजित रहे । डेविड मलान २० बलमा २ चौका र १ छक्का सहित २४ रनमा अविजित रहे । सुन्दरलाई छक्का प्रहार गर्दै मलानले खेल सकाएका थिए । भारतका स्पिनर वासिन्टन सुन्दर र युजभेन्द्र चहलले १ १ विकेट लिए ।
त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २४ रन बनाएको थियो । युवा ब्याट्सम्यान श्रेयस ऐरले ४८ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ६७ रन बनाउदै घरेलु टोली भारतको साख जोगाए । अन्य ब्याट्सम्यानको प्रर्दशन सम्झन लायक रहेन ।
तीव्र गतिका बलर जोफ्रा आर्चरको दोस्रो ओभर दोस्रो बलमा ओपनर लोकेश राहुल ९केएल० इनसाइड एज लागेर १ रनमा बोल्ड हुन पुगे । दोस्रो ओभर विकेट मेडनका राख्दै आर्चरले भारतलाई दबाबमा राखेका थिए ।
स्पिनर आदिल राशिदको तेस्रो ओभरको तेस्रो बलमा कप्तान विराट कोहली मिडअफमा क्रिस जोर्डनबाट शून्यमा समातिएपछि सुरुवातमै भारत दबाबमा परेको थियो । पाँचौं ओभरको अन्तिम बलमा मार्क वुडले ओपनर शिखर धवनलाई ४ रनमा बोल्ड आउट गरे । वुडको गति धवनले चाल पाउन सकेनन् ।
बेन स्टोक्सको १० औं ओभरको अन्तिम बलमा विकेटकिपर ऋषभ पन्त डिप स्क्वायर लेगमा जोनी बेयरस्टोबाट २१ रनमा समातिन पुगे । पन्तले २३ बलमा २ चौका र १ छक्का प्रहार गरे । ४८४ को कमजोर अवस्थामा पुगेको भारतलाई पाँचौ विकेटका लागि हार्दिक र श्रेयसले ४४ बलमा ५४ रनको साझेदारी गरेका थिए ।
हार्दिक पान्ड्या २१ बलमा १ चौका र १ छक्का सहित १९ रनमा क्याच आउट भए । हार्दिक आर्चरको बलमा जोर्डनबाट सहज क्याच आउट भए । लगत्तै अर्को बलमा शादूल ठाकुर गोल्डेन गक आउट भए । अक्षर पटेल ७ र वासिन्टन सुन्दर ३ रनमा अविजित रहे ।
जोफा आर्चरले ४ ओभरमा १ मेडन सहित २३ रन खर्चेर ३ विकेट लिए । क्रिस जोर्डन, बेन स्टोक्स, आदिल राशिद र मार्कवुडले १ १ विकेट लिए ।
दोस्रो टि२० खेल आइतबार हुने छ । सबै टि२० खेल नरेन्द्र मोदी स्टेडियममा हुने छ ।