Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अस्ताए लाेकप्रिय गीत ‘बेनीको बजार....’का सर्जक श्रेष्ठ

अस्ताए लाेकप्रिय गीत ‘बेनीको बजार....’का सर्जक श्रेष्ठ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १३, २०७७ शुक्रवार • ११:०८:४२ बजे
  • 2.2K
    SHARES
  • अस्ताए लाेकप्रिय गीत ‘बेनीको बजार....’का सर्जक श्रेष्ठ

    गलेश्वर - म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । जन्मथलो म्याग्दीबाट बसाइँ सरी रुपन्देहीमा बसोवास गर्दै आएका श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार बुटवलमा निधन भएको हो ।

    images

    बेनीको बजार,जता मायाँ उतै छ नजर बोलको गीत श्रेष्ठले २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरेपछि विश्वभरका नेपालीमाझ निकै चर्चामा आएको थियो । श्रेष्ठकी श्रीमती मन छन्त्याल र रचनाकार श्रेष्ठको युगल स्वर रहेको यो गीत अहिलेसम्म पनि चर्चाको शिखरमा छ । यही गीतका आधारमा नै बेनी बजारलाई मायालुको शहर भनेरसमेत चिनिन्छ ।

    लामो समयसम्म मिर्गौलासम्बन्धी समस्याले ग्रसित गायक श्रेष्ठले निरन्तररूपमा डायलासिस गर्दै आएका थिए । उनको निधनले लोक सङ्गीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको यस क्षेत्रमा लागेकाहरुले बताएका छन् । मिर्गौलासम्बन्धी समस्या झेलिँरहदासमेत श्रेष्ठ साङ्गीतिक क्षेत्रसँग नजिक थिए। तबला, हार्मोनियम लगायतका थुप्रै बाजा बजाउन जान्नुभएका श्रेष्ठ पछिल्लो एक दशकयता भने गुमनाम हुनुहुन्थ्यो । विसं २०१९ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा पहिलो पटक श्रेष्ठले बेनीको बजार,जता मायाँ उतै छ नजर बोलको गीत गाएका थिए ।

    सो कार्यक्रममा नेपालका १४ अञ्चलबाट आएका कलाकारलाई उछिनेर श्रेष्ठ दम्पतीको बेनीको बजार बोलको गीत नै प्रथम भएको म्याग्दीका अग्रज कलाकार अबिरकुमार श्रेष्ठले बताए । त्यसपछि सोही गीत २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # बेनीको बजार
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology