पोखरा - चीनले अनुदान दिएको ८ लाख डोज कोरोना खोप काठमाडौं ल्याइ पुर्याइएको छ।बेइजिङबाट खोप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज सोमबार बिहान काठमाडौं आइपुगेको हो।
चिनियाँ राजदूत होउ यान्छीले खोप त्रिभुवन विमानस्थलमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन्।चीन सरकारले कोरोनाविरुद्ध भेरासेल खोप नेपाललाई सहयोग दिएको हो। त्यहाँको सिनोभ्याक बायोटेक कम्पनीले उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियसम्म भण्डारण गर्न सकिने विज्ञले बताएका छन्। यो खोपका दुई मात्रा लगाउनुपर्छ।
विभिन्न परीक्षणले चिनियाँ खोप भेरासेल भारतबाट ल्याइएको कोभिसिल्डभन्दा बढी प्रभावकारी देखाएको विज्ञको दाबी छ। तर भेरासेल कोभिसिल्ड भन्दा महँगो छ।
यसअिघ भारतले पनि नेपाललाई १० लाख डोज कोभिडसिल्ड खोप दिएको थियो। जुन खोप बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका कम्पनीले संयुक्त रूपमा विकास गरेका हुन् भने भारतस्थित सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको छ।
राष्ट्रपतिको बचन पूरा गर्नका लागि प्रतिबद्ध : चिनियाँ राजदूत हाउ यान्छी
यो अवसरमा नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले आफूहरु राष्ट्रपतिको बचन पूरा गर्नका लागि प्रतिबद्ध भएको बताएकी छिन् । साथै, भ्याक्सिनको यो खेपमा चिनियाँ जनताको नेपाली जनताप्रति गहिरो मैत्रिपूर्ण भावना समेटिएको बताएकी छिन् ।
उनले भनेकी छिन्, यो दुई व्यक्तिको एकजुटताको अर्को एउटा ठोस् प्रमाण हो जसले एक अर्कालाई विषम परिस्थितिमा सहयोग गर्ने गर्छन् । यस्तै, यसले चीन नेपाल रणनीतिक सहकारी साझेदारीको उच्च प्रदर्शनसमेत गर्दछ ।
यो क्रममा हाउ यान्छीले राष्ट्रपति शी जिनपिङले गरेको बाचा पनि सम्झिएकी छिन् । यान्छीका अनुसार जिनपिङले चीनमा उत्पादन गरिएको भ्याक्सिन उपलब्ध हुने बित्तिकै विकासशील राष्ट्रलाई प्रदान गरिने बचन दिएका थिए । उनी भन्छिन्, हामी राष्ट्रपति शीको बचन पूरा गर्न प्रतिबद्ध छौं । महामारीविरुद्ध अन्तरराष्ट्रिय सहयोगको सक्रिय सञ्चालनका निमित्त अन्तरराष्ट्रिय खोप अभियानलाई प्रोत्साहित गर्नका लागि एक प्रतिबद्ध फ्रन्टरनरको रुपमा काम गर्दै सबैका लागि समान खोप वितरणमा हाम्रो प्रतिबद्धता छ ।
चीनले नेपाललगायत अन्य ८० देशमा कोभिड १९ को भ्याक्सिन अनुदान स्वरुप दिनेछ । तत्कालका लागि चीनले ४३ देशलाई खोप निर्यात गर्दैछ । हाउ यान्छीले भनिन्,चीनले कोभ्याक्ससँग पनि सहकार्य गरेको छ । यसमार्फत् चीनले सुरुवाती चरणमा १ करोड डोज विकाशशील राष्ट्रलाई प्रदान गर्नेछ ।
यसपटकको खेप सिनोफार्मले उत्पादन गरेको हो । उनले भनिन्,यो खोप ८० प्रतिशत बढी प्रभावशाली छ । यसको एन्टीबडीलाई निष्क्रिय गर्ने सकारात्मक रुपान्तरण दर ९९।५२ प्रतिशत रहेको । साथै यो गम्भीर मामिलालाई रोक्न शत प्रतिशत प्रभावकारी छ ।
हाउ यान्छीका अनुसार १० करोड बढी चिनियाँ भ्याक्सिन घरेलु तथा अन्तरराष्ट्रिय स्तरमा प्रयोग भइसकेका छन् ।
हाउ यान्छी भन्छिन्, नेपालले दोस्रो लहरको कोरोना संक्रमण रोक्नका लागि आवश्यक उपाय अपनाइरहेको छ । यो खेपले नेपाल सरकारको खोप अभियानमा सहयोग गरी महामारीमाथि नियन्त्रण पाउन र देशको अर्थतन्त्रलाई उकास्न मद्दत गर्ने कुरामा हामी आशावादी छौं