Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना भाइरसः सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

कोरोना भाइरसः सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २९, २०७७ आइतवार • २०:३०:१६ बजे
  • 1.7K
    SHARES
  • कोरोना भाइरसः सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

    सुदूरपश्चिम – मास्क नलगाई हिँड्ने, एकापसमा भौतिक दूरी कायम नगर्नेजस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ। सीमा नाकामा सर्वसाधारणको आवागमन गर्दा अपनाउनुपर्ने स्वास्थ्यसम्बन्धी सचेतनासमेत नअनाउँदा कोरोना भाइरस संक्रमणको जोखिम बढेको हो।

    images

    पछिल्ला दिनमा प्रदेशमा यो रोगको संक्रमण दर बढ्दै गएको छ। स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार पछिल्लो तीन हप्तामा १२७ जनामा संक्रमणको पुष्टि भएको छ। भारतमा यो रोगको संक्रमण र मृत्यु हुने दर बढेसँगै भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा पनि कोरोना भाइरसको जोखिम बढेको हो।

    जिल्ला प्रशासन कार्यालयले मास्क अनिवार्य लगाउन, भीडभाड नगर्न र मास्क लगाएर मात्र भौतिक दूरी कायम गर्दै बाहिर निस्कन आग्रह गरे पनि मास्क लगाउने र भौतिक दूरी कायम राख्नमा अधिकांशबाट लापरवाही हुने गरेको छ। रोग फैलिन नदिन सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरे पनि सभा, सम्मेलन, बैठकजस्ता गतिविधि रोकिएका छैनन्।

    प्रदेशका सीमा नाका हुँदै भित्रिने नागरिकको नाकामै एन्टिजेन परीक्षणको काम भइरहेको छ। हालसम्म ५ हजार ७१ जनाको एन्टिजेन परीक्षण गरिएकामा १ सय ४० जनाको नतिजा ‘पोजेटिभ’ आएको जनाइएको छ। शनिबार मात्रै प्रदेशको गड्डाचौकी, गौरीफन्टा, जुलाघाट र पुलघाट (दार्चुला) सीमा नाका हुँदै एक हजार ९ सय ९१ जना नेपाल भित्रिएकामध्ये शंकास्पद ६ सय ९९ को एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको छ।

    कुनै पनि व्यक्तिमा कोरोना भाइरस संक्रमण भए–नभएको जानकारी एन्टिजेन परीक्षणबाट पत्ता लाग्ने गर्छ। एन्टिजेन विधि कोरोना परीक्षण गर्ने पीसीआर विधिजस्तै मानिन्छ। कुन भाइरस हो भन्ने पत्ता लगाउन भने एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आउने व्यक्तिको पुनः पीसीआर पद्धतिबाट परीक्षण गर्नुपर्ने स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थी बताउँछन्।

    एन्टिजेन विधिवाट परीक्षण गर्दा स्वाब लिएको १० देखि २० मिनेटमै नतिजा आउने जनाइएको छ। प्रदेशका नेपाल—भारत सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमार्फत शंकास्पद व्यक्तिको एन्टिजेन गरेर मात्र प्रवेश गर्न दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

    सीमा नाकाबाट भित्रिनेलाई १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्न सल्लाह दिने गरिएको मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले बताए। यस प्रदेशमा पुससम्म कोरोना भाइरस संक्रमणका कारण ५६ जनाको मृत्यु भएको तथ्यांक स्वास्थ्य निर्देशनालयसँग छ।

    पुसयता मृत्यु दर शून्य रहेकामा केही दिनअघि मात्र कञ्चनपुरमा एक जना संक्रमितको मृत्यु भएको थियो। होम आइसोलेसन र प्रदेश बाहिरका जिल्लामा मृत्यु हुने कतिपयको तथ्यांक भने मन्त्रालयसँग छैन। कोरोना भाइरसको संक्रमण फैलिएपछि हालसम्म प्रदेशमा पीसीआर पद्धतिबाट एक लाख ३८ हजार ३ सय ८० जनाको स्वास्थ्य परीक्षण गरिएकामा यीमध्ये १४ हजार १ सय ८५ जनामा संक्रमण देखिएको थियो। संक्रमितमध्ये १४ हजार ५४ जना उपचार व्यवस्थापनपछि घर फर्किएका छन्।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology