एजेन्सी । विश्वब्यापी महामारीको रुपमा ब्याप्त कोरोना भाइरस संक्रमणकैबीच चिनियाँ वैज्ञानिकहरुले राम्रो सफलता हात पारेका छन । कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गर्ने क्रममा वैज्ञानिकहरुले सफलता हात पारेका हुन ।
भ्याक्सिनको दोस्रो पटकको मानव परीक्षणमा राम्रो सफलता हात लागेसंगै वैज्ञानिकहरु उत्साहित देखिएका छन । चीनको जियांसु प्रोभिन्शियल सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका वैज्ञानिकहरुको भ्याक्सिन दोस्रो चरणको मानव परीक्षणमा सफल सावित भएको हो ।
चाइना डट ओआरजीका अनुसार ‘ए डी फाइभ’ नाम दिईएको यो भ्याक्सिनको दोस्रो चरणको परीक्षण बुहान शहरमा गरिएको थियो । दोस्रो चरणको यो परीक्षणमा, पहिलो चरणको तुलनामा धेरै मानिसहरुलाई सहभागी गराइएको थियो ।
जसअनुसार पहिलो चरणमा १०८ जनामा परीक्षण गरिएको थियो भने दोस्रो चरणमा ५०८ जना सहभागी थिए । यो परीक्षणमा १८ देखि ५५ बर्ष उमेर समुहका मानिसहरुलाई सहभागी गराइएको थियो । परीक्षणमा सहभागीहरुको संख्याका हिसाबले दोस्रो चरणमा गरिएको यो परीक्षण, पहिलो चरणको तुलनामा पाँच गुणा धेरै हो ।
‘ए डी फाइभ’ भ्याक्सिनले मानव शरीरको रोगप्रतिरोधी क्षमतालाई मजबुत बनाउने र अन्य कुनै दुष्प्रभाव नहुने वैज्ञानिकहरुले बताएका छन । भ्याक्सिनको दुष्प्रभाव बारे परीक्षणमा सहभागी सबै उमेर समुहका मानिसहरुमा परीक्षण गरी गहन अध्ययन गरिएको थियो ।
यो परीक्षणबाट ‘ए डी फाइभ’ भ्याक्सिन सबै उमेर समुहका कोरोना संक्रमित विरामीहरुका लागि उपयुक्त हुने सावित भएको छ । बेईजिङ ईन्स्टिच्युट अफ बायोटेक्नोलोजीका प्रोफेसर वेई चेनले भने, ‘कोरोना भाइरसको खतरा सबै भन्दा बढी बृद्ध बृद्धाहरुमा हुन्छ । तर यो भ्याक्सिनको दोस्रो चरणको परीक्षणबाट राम्रो नतिजा आएको छ । यसबाट थुप्रै बुजुर्गहरु निको भएका छन । उनीहरु सबैको शरीरमा रोगप्रतिरोधी क्षमता पर्याप्तमा मात्रामा विकास भएको देखियो ।’