रुकुम पश्चिम-करोडौँ रकम खर्च गरेर ल्याइएका महत्वपूर्ण स्वास्थ्य उपकरणहरु आवश्यक जनशक्ति अभावमा वर्ष दिनदेखि थन्किएका छन् । जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा गएको वर्ष खरिद गरिएका भेन्टिलेटर सहितका उपकरण जनशक्ति अभावमा अस्पतालमै थन्किएका हुन् ।| राजु लामिछानेले उज्यालो अनलाइनमा लेखेका छन ।
स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख विष्णु बुढाथोकीले जनशक्ति अभावमा भेन्टिलेटर सहितका उपकरण प्रयोगमा नआएको बताउनुभयो । करिब १ करोड ५० लाख बराबरका भेन्टिलेटर, आईसीयू मेसिन, आईसीयू बेड, अक्सिजन लगाउने मेसिन, बिरामी जाँच गर्ने प्यासेन्ट मनिटर लगायतका महत्त्वपूर्ण सामाग्री सञ्चालनमा नआएको निमित्त प्रमुख बुढाथोकीको भनाइ छ ।
जिल्ला अस्पताल सल्ले रुकुम पश्चिमका डाक्टर राजकुमार भुजेलले सामाग्री खरिदको बेला एक दिन मात्र प्रदेश सरकारले तालिम दिएको बताउनुभयो । एक दिनको तालिममा सहभागी स्वास्थ्यकर्मीले भेन्टिलेटर मेसिन खोल्न र बन्द गर्न मात्र सिक्ने उहाँको भनाइ छ ।
थन्क्याएर राखेका भेन्टिलेटर सहितका उपकरण चलाउन क्रिटिकल केयर मेडिसिन सम्बन्धी विशेषज्ञता हासिल गरेको जनशक्ति चाहिने डा। भुजेलले बताउनुभयो ।
थन्किएर रहेका करोडौँका उपकरणहरु सञ्चालनको लागि उपयुक्त जनशक्ति व्यवस्थापनको लागि स्थानीय, प्रदेश र संघीय सरकारले यस विषयमा ध्यान नदिएको अस्पतालको अस्पतालको गुनासो छ ।
यता जिल्ला समन्वय समिति रुकुमका प्रमुख राजकुमार शर्माले भने अस्पतालमा रहेका यावत् समस्याहरुबारे आफूले तत्कालै समाधानका लागि पहल गर्ने बताउनुभएको छ ।
जनताको स्वास्थ्य अधिकारमा कोहि कसैले खेलाचि गरेमा आफुलाई सह्य नहुने प्रमुख शर्माको भनाइ रहेको छ ।