नेपालले त्रिकोणात्मक टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै उपाधि उचालेको हो।
नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३८ रन बनाएको थियो। बलिङतर्फ नेदरल्याण्ड्सका फिलिप बोइसेभिएनले दुई र सेबास्टिएन ब्राटले एक विकेट लिए।
२३९ रनको विशाल लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले १७ ओभर २ बलमा सबै विकेट गुमाउँदै ९६ रन मात्रै बनाउन सक्यो।नेपालका लागि बलिङतर्फ करन केसीले तीन, सन्दीप लामिछाने र कमलसिंह ऐरीले दुई दुई तथा अविनाश बोहराले एक विकेट लिए।
टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो सबैभन्दा फराकिलो जित हो। यसअघि नेपालले भुटानलाई १४१ रनले हराएको थियो।
सिरिजमा नेपाल, नेदरल्याण्ड्स र मलेसिया सहभागी थिए।