शम्भु रसाली
सामान्य बोलचालको भाषामा अग्लो घर वा भवनलाई धररा, धलरा, धजरा वा धरहरा र अंगे्रजीमा धरहरालाई टावर भनिन्छ । नेपालमा पनि धरहरा छ, धरहरा कहाँ छ, कसले बनायो र किन बनाईयो ? आदीको बारेमा जान्नु नितान्त आबश्यक छ । अझ रोचक कुरा त बास्तवमा धरहरा के हो ? धरहरा अग्लो न अग्लो स्तम्भ हो ? धरहरा अग्लो न अग्लो भवन हो ? धरहरा अग्लो न अग्लो मन्दिर हो या के हो ? यिनै विषयमा यो लेख केन्द्रित हुने छ ।
नेपालको राजधानी काठमाण्डौंको सुनधारामा रहेको धरहरा, तत्कालिन मुख्तियार यानिकी त्यतिबेलाका प्रधानमन्त्री भीमसेन थापाले वि.स. १८८१ सालमा आफ्नै निबास बागदरबारको छेबैमा र वि.स. १८८२ सालमा महारानी ललितत्रिपुरा सुन्दरीदेवीको सम्झनामा अहिलेको धरहरा भएको स्थान गरी दुई स्थानमा अग्ला अग्ला दुई स्तम्भ बनाएका थिए । जसलाई धरहरा वा भिमसेन स्तम्भ भन्ने गरिन्छ । भिमसेन थापाले बनाएको यो स्तम्भलाई अहिले भने धरहराको नामले चिनिन्छ । पहिलो पटक बनाइएको धरहरा ११ तल्लाको थियो ।
तत्तकालिन समयमा, दुई धरहरा मध्य भिमसेन थापाले बनाएको धरहरालाई तल्लो धरहरा र महारानीको सम्झनामा बनाइएको धरहरालाई माथिल्लो धरहरा भन्ने चलन रहेछ । वि.स. १८९० सालमा आएको महाभुकम्पले तल्लो धरहरा पूर्ण रुपमा ध्वस्त भयो भने माथिल्लो धरहरा केही मात्रामा मात्र क्षति भयो । अहिले भएको धरहरा पुन निर्माण हुँदै आजका दिनसम्म रहिरहयो भने तल्लो धरहरा किन पुन निर्माण भएन ? यो सवैको लागि चासोको विषय हुन सक्छ ।
दुई मध्य वाकी रहेको धरहरालाई वि.स. १९९० सालमा आएको विनाशकारी भुकम्पले ढालेको थियो । तत्कालिन प्रधानमन्त्री जुद्ध शमशेर जबराले वि.स. १९९२ सालमा ११ तले धरहरालाई ९ तल्लामा पुन निर्माण गरेका थिए । धरहराको निर्माण ईटा र बज्र (सुर्की, चुन, मास र चाकुको मिश्रण)बाट भएको थियो । जसको उचाई २०३ फिट थियो । जुद्धशमशेरले पुन निर्माण गरेको धरहरालाई वि.स. २०७२ बैशाख १२ गते आएको महाभुकम्पले ठुटो मात्र अवशेस रहने गरी ध्वस्त पारेको थियो । तेस्रो पटक वि.स. २०७८ साल बैशाख ११ गतेका दिन पुन निर्माण भएको धरहरा प्रधानमन्त्री के पि ओलीले बनाएका हुन । जुन आधुनिक तरिकावाट बनाइएको छ । जसको उचाई २४५ फिट छ पुन ११ तल्लाको बनाईएको छ ।
तत्कालिन प्रधानमन्त्री भिमसेन थापाले धरहरा किन बनाए होलान् ? भनिन्छ महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरुप यसको निर्माण गर्न लागएका थिए । त्यो भन्दा एक वर्ष अगाडि बनेको धरहरा पनि त छ नि । यसका विभन्न कारणहरु हुन सक्छन तर आजको लेखमा धरहरामा किन शिवलिग राखियो भन्ने कुरामा केन्द्रित हुनेछौ । बास्तवमा धरहरा के हो ? धरहरा भवन हो की, स्तम्भ होकी या मन्दिर हो यिनै कुरामा केन्द्रित हुनेछौं ।
धरहरा पुन निर्माण भइसक्दा, देश धर्म निर्पेक्ष भइसकेको अबस्थामा यसको माथिल्लो तल्लामा शिव लिङ्ग राखेर देशलाई हिन्दुकरण गर्न खोजिदै छ भन्ने विषयमा व्यापक बहस भइरहेको छ । कति पयले त यस कार्यको खुलेरै विरोध गरेका छन् । धरहरामा महादेवको मुर्ति वा शिव लिङ्ग राखिनु हुँदैन भनेर समाजकि संजालमा ब्यापक बिरोध भइरहेको छ । यस कुरालाई लिएर यत्रतत्र जतासुकै विरोध नै विरोध छ । बास्तविकता जानकारी भएर हो वा नभएर, विरोध लागि विरोध भइरहे कै छ । यसै सन्दर्भलाई लिएर केही सान्दर्भिक उदाहरुण सहित धरहरा भवन हो की मन्दिर भन्ने कुराको तर्क सहितको व्याख्या यस प्रकार रहेकोछ ।
मानौं, कुनै प्राकृतिक विपत्तिका कारण स्वयम्भू ध्वस्त भयो । यसको पुन निर्माण पछि त्यहाँ राखिदै आएको बुद्धको मुर्ति राख्ने कि नराख्ने ? त्यस्तै गरी कुनै कारणले ध्वस्त भएको चर्चको पुन निर्माण पश्चात त्यहाँ राखिदैं आएको क्रुस राख्ने कि नराख्ने ? महाभुकम्पले भत्काएको कृष्ण मन्दिरको पुन निर्माण पश्चात कृष्णको मुर्ति राख्ने कि नराख्ने ? वा भत्किएको मस्जिद पहिलाको जस्तै बनाउने कि नबनाउने ? महाभुकम्पले धरहरा ध्वस्त भयो, ध्वस्त धरहरा पुन निर्माण गरीसके पछि त्यहाँ लगभग २०० वर्षदेखि राखिदंै आएको शिव लिङ्ग राख्ने कि नराख्ने ? अवश्य राख्नु पर्छ भन्दै धरहरा स्तम्भ होइन मन्दिर नै हो भनि पुष्टि गर्ने केही तर्कहरु यस प्रकार रहेका छन् ः
त्यतिवेलाको नेपाल र अहिलेको काठमाण्डौं मन्दिरै मन्दिरको शहर भएका कारण तिनै मन्दिरहरुको बिचमा सवै भन्दा अग्लो मन्दिर बनाउने इच्छा भिमसेन थापामा भएको हुनुपर्छ । भिमसेन थापाले बनाएको त्यही अग्लो मन्दिर धरहरा हो । जसको दर्शन भक्तजनहरुले टाढा टाढाबाट पनि गर्न पाउन् भन्ने उद्देश्य भिमसेन थापाको हुनुपर्छ । यि कुरालाई हेर्दा धरहरा भवन होइन मन्दिर नै हो भन्ने हुन्छ । यदी धरहरा मन्दिर नै हो भने लगभग २०० वर्षदेखि यसको माथिल्लो तल्लामा राखिएको शिव लिङ्ग पुन राख्दा किन विवाद ?
धरहराको माथिल्लो तल्लामा शिव लिङ्ग राखिएको कारण ठुलो पशुपति नाथ, सानो पशुपति नाथ भने जस्तै यसलाई अग्लो पशुपती नाथ भन्न सकिने अवस्था छ । मन्दिरमा जस्तै धरहराको माथिल्लो तल्लामा शिव लिङ्गको मुर्ति र टुप्पोमा गजुर राखिएको कारण यो एक स्तम्भ वा भवन नभएर मन्दिर नै हो भन्ने कुराको पुष्टि हुन्छ भने मन्दिरमा मुर्ति राख्दा किन विरोध ?
बाहिरबाट हेर्दा अग्लो न अग्लो गोलाकार आकारमा बनेको धरहरालाई यदी एक तल्लामात्र सिमित गर्ने हो भने यसको बनावट मन्दिर कै हुन आउँछ । होचो हँुदा मन्दिर बन्छ भने अग्लो हुँदा मन्दिर किन नहुने ? यस तर्कले पनि सावित गर्दछ की धरहरा स्तम्भ नभएर मन्दिर नै हो । यदी धरहरा मन्दिर नै हो भने मुर्ति राख्दा किन हल्ला खल्ला ?
धरहरा बाहिरको २५ सिँढी र धरहराको भित्र २१३ सिँढी चढेर माथिल्लो तल्लासम्म चढेर शिव लिगको दर्शन गर्न जादाँ भक्त जनहरुलाई कैलाश पर्वत नै पुगेर महादेवको दर्शन गरेको अनुभव होस भन्ने हेतुले पनि यति अग्लो मन्दिर बनाएको हुनु पर्छ । यदी यस्तो हो भने धरहरा स्तम्भ वा भवन नभएर मन्दिर नै हो । जव धरहरा मन्दिर नै हो भने मुर्ति राख्दा किन धर्मनिर्पेक्ष र सापेक्षका कुरा ?
अहिलको मात्र नभएर तत्कालिन राजामहाराजाहरु र प्रशासकहरु पनि धर्म कर्ममा अति नै विश्वास गर्ने धार्मिक प्रवृतिका भक्तजनहरु थिए । धार्मिक भएकै कारण आफ्नो दरवारको छेबैमा भिमसेन थापाले अग्लो पशुपति नाथको मन्दिर बनाएको हुनु पर्छ । पछि महारानीको सम्झनामा अहिले भएको स्थानमा अर्को अग्लो मन्दिर बनाएको हुनुपर्छ, जसलाई अहिले धरहरा भनिन्छ । माथिको कुरा हेर्दा पनि धरहरा स्तम्भ वा भवन नभएर मन्दिर नै हो भन्ने हुन्छ । यदी धरहरा मन्दिर नै हो भने त्यहाँ रहेको शिव लिङ्गलाई हटाएर ईतिहास नै मेटन खोज्ने किन ? माथिका सवै कुरालाई हेर्दा यो भन्न सकिन्छ की धरहरा आजका दिनसम्म विश्वकै सवैभन्दा अग्लो मन्दिर हनुपर्छ ।
समयले ल्याएको बिकाससंगै जसरी राणाकालीन समयमा धरहराको टुप्पोबाट विगुल बजाएर समाजिक तथा प्रशासनिक सुचना र जानकारी दिन तथा भेला गराउन धरहराको प्रयोग गरेको पाइन्छ र विगुल वजेको सुनेपछि जंगी निजामती कर्मचाहरुहरु टँुडिखेलमा अनिवार्य रुपमा जम्मा हुनु चलनको लोप भयो त्यसरी नै भिमसेन थापाको पतनसंगै माथिका कुराहरु लोप हुँदै गएको हुन सक्ने अनुमान आज गर्न सकिन्छ ।
अख्तियार भिमसेन थापाले जे प्रयोजनका लागि धरहरा बनाएको भएता पनि आजका दिनमा आएर यो नेपालको पहिचाहन बनेको छ । काठामाण्डौंको सान बनेको छ । सम्पुर्ण नेपालीहरुको सम्पत्ति बनेको छ । नेपालीको गौरब गर्नलायक स्मारक बनेको छ । यति मात्र नभै धरहराले आन्तरिक र वाह्य पर्यटकहरुलाई आकर्षण गरी पर्यटन क्षत्रको विकास र बिस्तारमा महत्वपूर्ण भूमिका खेलेको छ ।