काभ्रे - काभ्रेमा कोरोना संक्रमित थप दुई जनाको मृत्यु भएको छ । पनौती १० की ५२ वर्षीया महिला र धुलिखेलका ८२ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो । नगेन्द्र अधिकारीले कान्तिपुरमा लेखेका छन।
५२ वर्षीय महिलाको स्वास्थ्यमा एक्कासि समस्या आएपछि अस्पताल लगेर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने स्थिति भए पनि वैशाख १० गते जिल्लाका धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पतालमा सम्भव नभएपछि काठमाडौं लगिएको थियो । गणेशमान सिंह मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
बुधबार बिहान स्वास्थ्यमा समस्या भएपछि धुलिखेल अस्पताल ल्याइएका ८२ वर्षीय पुरुषको पनि मृत्यु भएको जिल्ला कमान्ड पोस्टले जनाएको छ । जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि मृत्यु भएको यो पहिलो घटना हो । यसअघि कोरोना संक्रमणका कारण जिल्लामा ६३ जनाको मृत्यु भइसकेको छ ।