चितवन,रासस-भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउने बिरामी र कुरुवालाई पिसिआर परीक्षण अनिवार्य गरिएको छ। अस्पतालले सोमबार सूचना जारी गरी कोभिड संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न नयाँ व्यवस्था लागु गरेको जनाएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा। देजकुमार गौतमले जारी गरेका सूचनामा अस्पतालमा अत्यावश्यक परेमा मात्र आउन अनुरोध गरिएको छ। सूचनामा भनिएको छ, अस्पतालले केमोथेरापी र अस्पतालमा भर्ना भएर उपचार गर्नुपर्ने बिरामी र कुरुवाको समेत पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने छ। यस्तै मेमोग्राफ, इण्डोस्कोपी सेवा लिने बिरामीले पिसिआर अनिवार्य गर्नुपर्ने जनाइएको छ।
फलोअपमा आउनुपर्ने बिरामीलाई टेलिफोन वा जुममार्फत सम्पर्क गरेर मात्रै आउन पनि अनुरोध गरिएको छ। अस्पतालको सेवा लिन आउँदा सेवाग्राहीले अनिवार्यरूपमा सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुन पाानीले हात धुनेलगायतका सावधानी अपनाउन पनि अस्पतालले अनुरोध गरेको छ। बहिरङ्ग सेवाको टिकट बिदाको दिनबाहेक बिहान ७ देखि दिउँसो १ बजेसम्म खुला रहने अस्पतालले जनाएको छ।