म्याग्दी- म्याग्दीको मालिका गाउँपालिकाले कोरोना भाइरसका संक्रमितको उपचार र व्यवस्थापनका लागि २० शय्या क्षमताको आइसोलेसन निर्माण गरेको छ । गाउँपालिका केन्द्र दरवाङको छ्यारछ्यारेस्थित बहुउद्देश्यीय सभाहलमा आइसोलेसन निर्माण गरेको हो । पछिल्लो समय दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि आइसोलेसन स्र्थापना गरिएको हो । आइसोलेसनमा अक्सिजन सिलिन्डर, औषधीलगायत कोरोना संक्रमितको उपचारमा प्रयोग हुने सामग्री ब्यवस्थापन गरिएको छ ।
दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक र गाउँपालिकाका स्वास्थ्यकर्मीलाई परिचालन गरेर आइसोलेसनमा भर्ना हुने संक्रमितको उपचार गरिने गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय दरवाङबाट आइसोलेसनको सुरक्षा व्यवस्थापन हुनेछ ।
गाउँपालिकाको केन्द्र, सुरक्षाकर्मी, चिकित्सक र स्वास्थ्यकर्मीको पहुँच हुने, व्यवस्थाकीय हिसाबले सहज हुने भएकाले बहुउद्देश्यीय सभाहललाई आइसोलेसन बनाइएको हो । गाउँपालिका र प्रदेश सरकारको साझेदारीमा हालै सभाहल निर्माण भएको थियो ।