प्रदिप घताल “शान्त”
जेष्ठ १०, २०७७ को रुकुम चौरजहारीमा भएको जातीय नरसंहारको घटना भएको पनि वर्ष दिन भयो । जातले अलग दुई युवा युवतीको प्रेम सम्वन्धलाई जातकै कारण स्विकार्न नसक्दा सिङ्गो गाँउ उल्टेर ४, ५ किलोमिटर लखेटि–लखेटी घेराहालेर मारेर भेरी नदिमा फालीएका ति अबोध युवाको परिवारलाई न्याय दिलाउनका लागि धेरै आन्दोलनहरु भए । सडकदेखि सदनसम्म उक्त घटनाका दोषिलाई तत्काल कारवाही गरियोस भनि आवाजहरु निस्कीए । सरकारि पक्ष, मानब अधिकार आयोग, दलित नागरिक समाज आदिका स्थलगत प्रतिबेदनबाट घटना पूर्णरुपमा जातीय बिभेदकै आवरणमा घटाइएको नृशंस अपराध भएको पुष्टि गर्यो । झण्डै ३ दर्जन नजिक मान्छेहरुलाई घटनामा संलग्न भएको आरोपमा अभियोग लगाई सरकारी वकिलबाट मुदा दायर गरियो । त्यस पश्चात थुन छेक बहस हुदै केहिलाई सामान्य तारिख त केहिलाई धरौटीमा छुटाउने काम भयो । अझै फैसला हुन सकेको छैन । घटनामा संलग्न व्यक्तिहरुले आफ्नो अपराध प्रहरि बयानमा स्विकारी सक्दा पनि फैसलामा यति ढिला हुदा कतै न्याय निरुपणमा चलखेल त हुने होइन भन्ने आशंका आम न्यायको पर्खाइमा रहेका मानिसहरुमा पर्न गएको छ । वडा अध्यक्ष जस्ता व्यक्तीहरु प्रत्यक्ष घटनामा जोडीनु, घटना लगतै जिम्मेवार माननीय ज्यूहरुबाट घटनालाई प्रत्यक्ष प्रभाव पार्ने गरि वक्तव्य वाजीमा उत्रनु जस्ता तथ्यले कतै न्यायलाई प्रभावीत त गर्दैनन् भन्ने आशंकालाई बलियो आधार प्रदान गर्दछन । सोति घटनापछी पनि अन्य जिल्लाहरुमा यस्तै जातीय बिभेदकै कारण धेरै जना युवा युवतीले ज्यान गुमाईरहेका तथ्यहरु एकपछि अर्को गर्दै बाहिर आइरहेका छन् । यि सबै घटनामा सरकार मौन देखिन्छ भने राज्यका अन्य अङ्गहरुको पनि खासै चित्तबुझ्दो एक्सन देखिन्न । जुन खेदजनक छ ।
समाजमा किन घट्छन् त यस्ता घटना ?
नेपाली समाज मुख्यतया सनातन हिन्दु धर्म संस्कारलाई मान्दै आएको समाज हो । आज पनि झण्डै ८० प्रतिशत जनसंख्या हिन्दु धर्म संस्कृतीलाई आफ्नो जिवनको मार्ग दर्शन सिदान्तको रुपमा स्विकार गर्दछन । हाम्रो समाजले इतिहासको लामो अबधिसम्म आफ्नो मुल कानुनको रुपमा मनु द्वार रचिएको वा मनुस्मृतिमा व्यवस्था भएको सामाजिक, आर्थिक र राजनीतिक व्यवस्थालाई कठोर रुपमा अभ्यास गर्दै आयो । राज्यले नै जबर्जस्ती लादेको यस मनुस्मृतीको कानुनले हिन्दु समाजलाई झुण्ड झुण्डमा बिभाजित गर्यो । समाजमा तल्लो वर्णमा पारिएकाहरुलाई लामो समयसम्म ज्ञान, शिक्षा, सम्पति, चाहेको पेशा आदिबाट पूर्ण बञ्चीत गराई समाजीक आर्थिक रुपमा ठूलो बिभेदको खाडल निर्माण गर्यो । त्यति मात्र होइन अझ छुवाछुत जस्तो निकृष्ठ व्यवहार लादेर समाजमा कठिन श्रम गर्ने एउटा हिस्सालाई पछाडि पार्ने काम भईरह्यो । नेपाल आधुनिक राज्य निर्माणको चरणमा प्रवेश गर्दै गर्दा पनि यस्तो निकृष्ठ संस्कार अझ संरक्षण र बिस्तार हुने अवसर पाईरह्रयो । २०२० सालको राजा महेन्द्रको मुलुकी ऐन पछी क्रमश यसमा सुधार आएको र हालको संविधानले त यसलाई पूर्णरुपमा दण्डनीय करारको रुपमा स्विकार गरेको भएपनी यो कागजि रुपमा मात्रै सिमित रहेको देखिन्छ । अझपनि हाम्रा कानुनमा हिन्दु धर्म संस्कृतीको प्रभाब नै धेरै रहेको पाईन्छ । धार्मीक, सामाजिक र राजनीतिक सत्तामा सनातन देखिको बर्चस्व हासिल गरेका बर्णाश्रम व्यवस्थाका ब्राम्हण, क्षेत्री र बैष्यमा सदैव आफु पबित्र, शक्तिशाली र उच्च भएको मनोविज्ञान बनिरह्यो । बर्चश्वसालीहरुको यस्तो मनोबिज्ञानले पिधमा पारिएका सिमान्तकृत समुदायप्रति हिंसा थोपरिरह्रयो । आज पर्यन्त समाजमा रहेको गैह्रबराबरी र यसको मनोविज्ञानलाई भत्काउन नसक्नु राज्यको गम्भीर त्रुटी देखिन्छ भने संबिधानमा लेखिएको कानुनी डण्डा मात्रै बिभेद उन्मुलनमा पर्याप्त नभएको देखिन्छ ।
कसरि हल गर्न सकिन्छ त दलित माथिको हिंसा ?
रुकुम सोती जस्ता बर्बर घटनाको जति निन्दा गरेपनि कम हुदैन । यस्ता घटनाका दोषिलाई जति सकिन्छ छिटो कडा भन्दा कडा कारबाहीको दायरामा ल्याउन ढिला गरिनु हुन्न । न्याय ढिला दिनु भनेको न्याय नदिनु सरह मानिन्छ । घटनामा भएका यथेष्ट प्रमाण र तथ्यहरु प्रष्ट हुदाहुदै मुद्दालाई कमजोर बनाउन खोज्नु र दोषिलाई उन्मुक्ति दिन कहिकतैबाट खोजियो भने त्यो सह्यै हुदैन । यसले बदलाको भावना जन्माउछ र अर्को हिंसालाई निम्त्याउछ । यसमा सम्बन्धीत पक्षहरु गम्भिर हुन जरुरि छ । संगसगै यस्ता घटनाले सिङ्गो राज्य र सरकारको आँखा खुल्नुपर्र्दछ । समाजमा बर्षैदेखिको बिद्यमान सामाजिक, आर्थिक बिभेदको खाडल र छुवाछुतलाई हटाउन राज्यको भुमिका प्रमुख हुन्छ । सामाजिक पुर्नजागरणको जिम्मा राज्यले लिदै बिगतका धार्मिक सामाजिक चिन्तन र तर्कहरुलाई बैज्ञानिक र मानबताबादि तर्कहरुले खण्डन गर्र्दै समभाव र स्विकार्यताको मनोविज्ञान निर्माणमा राज्यको लगानी आबश्यक हुन्छ । आरक्षण को व्यवस्थाले मात्र दलित सिमान्तकृतहरुको उत्थान हून्छ भनेर सरकार मौन बस्ने हो भने हामिले भनेको शान्ति र समृद्धीको प्राप्ती कदापी सम्भव छैन । सामाजिक न्याय र समतामुलक समाजको निर्माण भाषण मात्र गरेर आउदैन । यसका लागि लक्षीत समुदाय केन्द्रीत योजना, नीति, जागरण अभियान र सो कार्यन्वयनमा पर्याप्त बजेट आबश्यक देखिन्छ । राज्यको तलब भत्ता खाने कर्मचारीहरुलाई सरकारले बनाएका नीति, कायक्र्रम र जागरण बारे पर्याप्त जानकारी गराउदै सो को कार्यन्वयन गर्न र गराउन अनिवार्य गराउनु पर्दछ । अहिले पनि गाँउ देखि सहरका शिक्षक शिक्षीकाहरु जो राज्यबाट तलव भत्ता लिन्छन र सबभन्दा बढि बिभेद उनिहरु गर्छन यो बडो बिडम्वना हो ।
सरकारको अरबौ बजेट मन्दीर जिर्णोद्वार र संरक्षणमा जादै गर्दा हिजो सम्म त्यहि मन्दिर प्रबेशमा रोकिएका दाजुभाईहरुको सामाजिक आर्थिक जिवन उकास्न लगानि गरिएन भने उक्त समुदायबाट खाडीमा बिदेशिएका युवाको रेमिट्यान्सले मात्र तिनको जिवन उल्लेख्य बदल्न सक्दैन । राज्य अगाडी बढ्ने हो भने यो गैह्रबराबरीको अन्त गर्न सबै खाले अष्त्र प्रयोग गर्दै अघि बढ्नु पर्दछ जसले सयौ वर्ष पुरानो मनोविज्ञान बदल्न सक्दछ । आफुलाई दलित अभियन्ता, राजनीतिकर्मि र मानव अधिकारकर्मी भन्नेहरुले पनि यो समस्या साच्चिकै हल हुने गरि राज्यलाई दबाव सृजना गर्न ढिला गर्न हुदैन । अनि मात्र जातका नाममा मारिएका र अन्यायमा पारिएकाहरुले साच्चिकै न्याय पाएको महसुस हुनेछ ।