म्याग्दीको सदरमुकाम बेनी बजारमा कोरोनाको सङ्क्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढेको छ । पछिल्ला केही दिनयता सङ्क्रमित हुनेहरुमा ग्रामीण क्षेत्रका छन् । परीक्षण गरेको ठाउँमा सङ्क्रमित भेटिएका छन् । परीक्षण गरिएकामध्ये ८५ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
बेनी अस्पतालका प्रमुख जितेन्द्र कडेल केही दिनयता बेनी बजारभित्र सङ्क्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढ्दो क्रममा देखिएको बताउँछन् । सदरमुकाममा सङ्क्रमणदर घट्नुमा वैशाख २२ गतेदेखि भएको निषेधाज्ञाको प्रभाव परेको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रका सदस्यहरुको विश्लेषण छ ।
बेनी बजारमा नयाँ सङ्क्रमित थपिने क्रम घटेको छ तर ग्रामीण क्षेत्रमा थपिएकाले समग्र जिल्लाको अवस्था स्थिर छ डाक्टर कडेलले भने, ग्रामीण क्षेत्रमा परीक्षणको दायरा बढाएसँगै सङ्क्रमित पहिचान हुन थालेका हुन् । बेनी अस्पतालको आइसोलेशनमा उपचाररत अधिकांश सङ्क्रमित नगरपालिकाको ग्रामीण क्षेत्र र पालिकाको आइसोलेशनबाट रिफर भएर आएकाहरु छन् ।
निषेधाज्ञा भएपछि शहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा गएका तथा अन्य माध्यमबाट भित्रिएको कोरोनाको सङ्क्रमण विवाह, चौरासी, व्रतबन्ध्र, छेवार, किरिया जस्ता सांस्कृतिक कार्यमा भएको जमघट र भोज भतेरमार्फत फैलिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताए ।
सोमबार पछिल्लो २४ घण्टामा म्याग्दीका ६५ सङ्क्रमितमध्ये अधिकांश ग्रामीण क्षेत्रका छन् । योसँगै म्याग्दीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ५५३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३५ सङ्क्रमित निको भएर आइसोलेशनमुक्त भएका छन् । म्याग्दीमा ५२० सक्रिय सङ्क्रमित छन् । बेनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक लीला गौतमका अनुसार नगर क्षेत्रमा पछिल्लो पटक घतान, अर्थुङ्गे र भकिम्लीमा सङ्क्रमण फैलिएको छ ।
भकिम्लीमा ३२ जना लक्षण देखिएका र शङ्कास्पदको स्वाबको नमूना परीक्षण गर्दा २८ जनामा सङ्क्रमण पुष्टि भएको उनले बताए । यसैगरी रघुगङ्गा गाउँपालिकाको पिप्ले, दग्नाम र चिमखोलामा सङ्क्रमण फैलिएको छ । केही दिनअघि वडा नं ५ को छिस्वाङमा फैलिएको कोरोना केही दिनयता मङ्गलाको वडा नं ३ मा पर्ने बरङ्जा क्षेत्रमा बढेको छ ।
एक हप्ताअघिसम्म न्यून मात्रामा सङ्क्रमित भएको मालिका गाउँपालिकाको देविस्थान, रुम, डाडागाउँ र निस्कोटमा देखिएको छ । मालिकामा रुमका ३२, देविस्थानका २३, निस्कोटमा नौ, डाडागाउँमा आठ, ओखरबोटमा छ र दरवाङमा एक जना सङ्क्रमित छन् । अन्नपूर्णको दोवामा पनि कोरोना सङ्क्रमित भेटिएका छन् ।
धवलागिरिको ताकम र लुलाङमा पनि सङ्क्रमणको अवस्था स्थिर देखिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा भएको लारवाहीका कारण ग्रामीण क्षेत्रमा कोरोना महामारी नियन्त्रणमा चुनौती देखिएको छ । म्याग्दीको गुर्जा, बिम, मल्कवाङ, कुइनेमङ्गले, पाखापानी, झिँ र राम्चेबाहेकका वडाहरु कोरोना महामारीबाट प्रभावित भएका छन् ।रासस