Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङ गलकोट चिसापानीमा रेम्बो ट्राउट माछाको व्यावसायिक पालन सुरु

बागलुङ गलकोट चिसापानीमा रेम्बो ट्राउट माछाको व्यावसायिक पालन सुरु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १७, २०७८ सोमवार • ११:२५:१५ बजे
  • 2.0K
    SHARES
  • बागलुङ गलकोट चिसापानीमा रेम्बो ट्राउट माछाको व्यावसायिक पालन सुरु

    बागलुङ । गलकोट नगरपालिका ३ चिसापानीमा रेम्बो ट्राउट माछाको व्यावसायिक पालन थालिएको छ । गलकोट ७ मल्मका युवा व्यवसायी हुम थापाले माछापालनमा लगानी गरेका हुन् । उनका अनुसार ११ वटा पोखरीमा ट्राउटपालन भइरहेको छ । अहिले १६ हजार भुरा पोखरीमा छन् । एक क्विण्टलजति बेच्ने भइसके थापाले भने ।

    images

    गत वर्ष नै माछापालनसहित एग्रो रिसोर्ट सञ्चालनमा ल्याउने उनको तयारी थियो । कोरोनाका कारण उक्त योजना पछाडि धकेलिएको छ । रेष्टुराँ, पौडी पोखरीलगायतका संरचना भने बनिसकेका छन् । माछापालन व्यवसायसहित अन्य पूर्वाधारमा हालसम्म रु एक करोडभन्दा बढी खर्च भइसकेको थापाको भनाइ छ । दरमखोला रेम्बो ट्राउट एग्रो नामक दिएर उनले व्यवसाय थालेका हुन् । पछि एग्रो रिसार्टकै रूपमा विस्तार गर्ने र त्यसका लागि पूर्वाधार तयारीको काम भइरहेको थापाले बताए ।

    पछिल्लो समय ट्राउटपालन हेर्न, रेष्टुराँमा समय बिताउन र पौडीको आनन्द लिन मानिसहरू त्यहाँ जान थालेका थिए । गत नयाँ वर्षको आसपासमा त दैनिक सयौँको भीड नै लाग्थ्यो । गर्मीयाममा पौडीको आनन्द लिन आउनेको सङ्ख्या पनि उत्तिकै हुन्थ्यो । पौडीका लागि प्रतिव्यक्ति रु १०० र विद्यार्थीलाई रु ५० तोकिएको छ ।

    कोरोनाको जोखिमले पुनः निषेधाज्ञा जारी गरिएपछि अहिले व्यवसाय बन्द छ । रेष्टुराँ त खोल्ने कुरा भएन, आलो माछा किन्न आउनेलाई बेचिरहेका छौँ थापाले भने । ट्राउट माछाको मूल्य प्रतिकिलो रु एक हजार ४०० छ । रेष्टुराँमा परिकार बनाएर खाँदा एक प्लेटको रु ४०० पर्छ । थापाले ट्राउटसँगै स्थानीय दरमखोलाको असला माछा पनि पालेका छन् ।

    एउटा पोखरीमा असलाका एक हजार ५०० भुरा छाडिएको छ । आफ्नै जग्गामा बाह्रैमास चल्ने पानीको मूल भएपछि थापाले ट्राउटपालनको सोच बनाउनुभएको थियो । पानी परीक्षणपछि प्राविधिकरूपमा उपयुक्त देखिएकाले ट्राउट माछा पाल्न शुरु गरेको उनले बताए ।

    ट्राउट १२ देखि १८ डिग्रीको तापक्रममा पाल्न सकिन्छ । जापानी प्रजातिको ट्राउट माछा स्वाद र स्वास्थ्य दुवै हिसाबले उत्कृष्ट मानिन्छ । बजारमा पनि ट्राउटको माग बढी छ । मुख्यरूपमा माछापालन गर्ने र सोही ठाउँलाई एग्रो रिसोर्टका रूपमा विकास गर्ने लक्ष्यसहित लगानी गरेको थापाको भनाइ छ ।

    रिसोर्ट परिसरमा वनभोजस्थल बनाउने, स्थानीय गुरुङ जातिको परिकार खुवाउने, कला, संस्कृति देखाउनेसम्मको योजना उहाँसँग छ । सबै संरचना बनाउँदा झण्डै २७ रोपनी क्षेत्रफल ओगटिने देखिएको छ । एकैसाथ ३० हजार भुरा छाड्न मिल्ने गरी पोखरी निर्माण गरिएको छ । माछापालन र रेष्टुराँ व्यवसायमा अहिले सात जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

    पर्यटकीय हिसाबले पनि यो ठाउँ चिनिने र व्यवसाय पनि सफल हुने देखेर लगानी गरेको हुँ थापाले भने । धन कमाउन विदेश ताक्ने युवाहरूको लहरबीच गाउँमै उद्यमी बन्ने उनको सोच र लगनको धेरैले प्रशंसा गर्छन् ।

  • सम्बन्धित विषय:

  • # रेम्बो ट्राउट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology