विश्वकप २०२२ र एशियनकप २०२३, छनोट खेलमा आज नेपालले चाइनिज ताईपेईसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल कुवेतमा नेपाली समयअनुसार बेलुकी ९ :४५ मा हुनेछ ।
विश्वकप छनोटको आगामी चरणमा पुग्ने गणियित संभावना कायम रहेपनि व्यवहारिक रुपमा त्यो असंभवजस्तो देखिन्छ । अस्टेलिया, कुवेत जोर्डन र चाईनिज ताईपेई सम्मिलित समूह बीमा रहेको नेपालको लक्ष्य सोझै एशियाकपको अगाामी (तेस्रो) चरणको छनोट खेल्ने हो । यसका लागि भने चाईनिज ताईपेईविरुद्धको आजको खेललाई महत्वपूर्ण मानिएको छ ।
नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ताईपेईविरुद्ध जित निकाल्ने लक्ष्य रहेको बताएका छन् ।हामी छनोटको चौथो स्थानमा रहेर एशिया कपको तेस्रो चरणको छनोट खेल्ने अवसर कायम राख्न चाहन्छौं र यसका लागि जित्न चाहन्छौं,अलमुताईरीले भने,हामीसँग युवा र प्रतिभावान् खेलाडी छन् ।तुलनात्मक रुपमा अन्य टोलीको दाँजोमा ताईपेईविरुद्धको खेल नेपालका लागि सहज छ, त्यसैले नेपालले जितलाई नै आफ्नो लक्ष्य बनाएको छ ।
यसअघि पहिले लेगमा पनि नेपालले ताईपेईलाई २–० ले हराएको थियो । समूहको चौथो स्थानमा रहेको नेपालले अहिलेसम्म खेलेका पाँच खेलमध्ये यही खेलबाट मात्रै अंक जोडेको हो । अन्य सबै खेलमा नेपाल पराजित भएको छ । यता, ताईपेइले अहिलेसम्म खेलेका ५ खेलमा कुनै जित निकाल्न सकेको छैन । त्यसैकारण, उसले पनि नेपालविरुद्धको खेल जित्ने लक्ष्य राखेको छ ।