एजेन्सी/ ब्राजिलमा प्रायः गरिब बस्तीबाट स्टार फुटबलर जन्मन्छन् । साओ पाओलोस्थित जार्मिन पेरी झुपडबस्तीले अहिले यस्तै एक फुटबलमा गर्व गर्ने अवसर पाएको छ । २४ वर्षीय गाब्रियल जेसस यही बस्तीबाट उठेर अन्तर्राष्ट्रिय स्टार बनेका छन् । उनी कुनै समय सडकमा पेन्टिङ गर्थे । अहिले ती सडकमा उनका तस्वीरहरू पेन्ट गरिएका छन् । भेरा लुसियाका चार सन्तानमध्ये गाब्रियल कान्छा हुन् । उनी सानै छँदा उनका बाबु प्रेमिकालाई लिएर भागे, भेराले मजदुरी गरेर आफ्ना चार सन्तानलाई एक्लैले हुर्काइन् ।
गाब्रियलका लागि सबैभन्दा प्रिय स्थान नै सडक थियो, किनकि यहाँ मज्जाले फुटबल खेल्न पाइथ्यो । झुपडबस्तीमा आफ्ना साथीहरूको खराब अवस्था र संघर्ष नियालेका गाब्रियल आफूलाई भने भाग्यमानी ठान्छन् ।

‘म भाग्यमानी थिएँ, किनकि मेरी आमाले अति नै दु:ख गरेकाले मैले नियमित खाना पाएँ । मसँगै हुर्किएका धेरै बच्चाहरूले धेरै पटक एक छाक मात्रै खान्थे, त्यो पनि फुटबल मैदानमा । नयाँ युवा छान्नका लागि क्लबहरूका एकेडेमीले लिने ट्रायलमा समावेश हुनेहरूले नि:शुल्क रूपमा सोडा र स्यान्डविच पाउँथे,' गाब्रियल भन्छन्, 'इमानदारीसाथ भन्नुपर्दा धेरै खेलाडीहरू ट्रायलमा छनोट हुने आसले नभएर नि:शुल्क खानकै लागि आउने गर्थे । कतिपय बच्चाहरू घण्टौँ बसयात्रा गरेर आउँथे र कहिलेकाहीँ केही दयालु प्रशिक्षकहरूले उनीहरूको परिवारलाई समेत पुग्नेगरी खानाको प्याकेट उपलब्ध गराउँथेँ ।’
बाल्यकालमा आफ्ना साथीभाइसँग धुले मैदानमा फुटबल खेल्दै रमाउने गाब्रियल एउटा स्थानीय प्रतियोगितामा २९ गोल गरेपछि स्थानीय स्तरमा नायक बने । उनलाई यसपछि साओ पाओलो फुटबल क्लबले प्रशिक्षणमा बोलायो र युवा टोलीमा छनोट पनि गर्यो । ‘तर एकेडेमीमा मेरा लागि बेड खाली थिएन, जसको अर्थ मैले घरबाटै क्लबसम्म जानुपर्ने थियो र यो केही टाढा थियो,’ गाब्रियल सम्झन्छन्, ‘घरबाट क्लबसम्म जानुपर्दा मेरो पढाइ छुट्नेवाला थियो र त्यो आमाको चाहनाविपरीत थियो ।’

केहीपछि पाल्मेरस क्लबले उनलाई युवा टोलीमा बोलायो, जहाँ लगत्तै उनको जादु चल्यो । सन् २०१४ मा पाल्मेरस बल्लतल्ल ब्राजिलको शीर्ष डिभिजनमा टिक्न संघर्ष गर्नुपरेको थियो । र, समर्थकहरूले गाब्रियललाई सिनियर टोलीमा बोलाउनुपर्ने माग गरे ।
अर्को वर्ष उनले लिगमा डेब्यु गर्दै २० खेल खेलेर ४ गोल गरे । यस सिजन पाल्मेरसले नवौँ स्थानमा रहेर लिग टुंग्यायो र राष्ट्रिय नकआउट प्रतियोगिता कोपा डो ब्रासिल जित्यो । यस प्रतियोगितामा गाब्रियलले सर्वाधिक ८ गोल गरेका थिए ।
२०१६ मा ब्राजिललाई रियो ओलम्पिक जिताउन पनि उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । यही वर्ष पाल्मेरसले २२ वर्षपछि लिग उपाधि जित्यो । गाब्रियल लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल जित्न सफल भए । उनले प्रतियोगितामा १२ गोल गरेका थिए ।
२०१८ का लागि सञ्चालित विश्वकप छनोटमा उनको प्रदर्शन पनि उत्कृष्ट थियो । उनले १० खेलमा ७ गोल र ५ एसिस्ट गर्दै ब्राजिललाई रुस विश्वकपमा छनोट गराए ।
जनवरी २०१७ मा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले २ करोड ७० लाख पाउन्ड खर्चेर उनलाई भित्र्यायो । उनले सिटीबाट तीनपटक प्रिमियर लिग र एकपटक एफए कप जितिसकेका छन् भने पेप गार्डिओलाको टोलीका लागि १ सय ३१ खेलमा ५० गोल गरेका छन् ।
अहिलेसम्म ब्राजिलका लागि उनले ४४ खेलमा १८ गोल गरिसकेका छन् । गोल गरेपछि खुसी मनाउने गाब्रियलको शैली पनि अनौठो छ । उनी गोल गर्नासाथ मैदानमा टेलिफोन गरेजस्तो अभिनय गर्छन् ।
‘यो संकेत मेरी आमा र हाम्रो संघर्षका लागि हो । यो मेरा साथीभाइ, परिवार, प्रशिक्षक मामिडे र ब्राजिलमा रहेका सबैका लागि पनि हो, जसले मलाई यहाँसम्म पुग्न सहयोग गरे,’ गाब्रियलले भने, ‘म्यानचेस्टर सिटीका लागि मैले गोल गर्नासाथ आमाले फोन गर्नुहुन्छ । अर्थात्, बलले जाली चुम्नासाथ मेरो फोनको घण्टी बजिसकेको हुन्छ । चाहे उनी ब्राजिलमा हुन् वा रंगशालामा खेल नियालिरहेकी हुन्, उनी मलाई हरेक समय फोन गर्छिन् । त्यसैले म पनि कर्नरको झन्डामा कुद्छु । र, मेरो हात कानमा राख्छु अनि ‘हेल्लो आमा’ भन्छु ।’
गाब्रियल थप्छन्, ‘म एक गरिब समुदायको व्यक्ति हुँ । र, सकेको बेला म त्यहाँ जान्छु । यसो गर्दा आफ्नो ख्याति र टीभीमा कायम रहन सहज हुन्छ भन्ने मलाई लाग्छ । मेरा धेरै साथीहरू अहिले ट्याक्सी चलाउने, कारखानामा मजदुरी वा सुपर मार्केटमा काम गर्ने गर्छन् । प्रतिभावान् नभएको वा मिहिनेत नगरेकाले होइन, बरु नियतिले उनीहरू फुटबलबाट टाढिएका हुन् । म यस अर्थमा भाग्यमानी रहेँ, तर यो अवस्थासम्म म आइपुग्नुमा उनीहरूको सहयोग, सद्भाव र हौसला एकदमै महत्त्वपूर्ण छ ।