पोखरा । पोखराका ग्यास विक्रेता व्यवसायीहरुले आफूहरूलाई सरकारले कोरोना भाइरसविरुद्ध खोप नदिएसम्म ग्यास आपुर्ति र बिक्रि वितरण रोक्ने चेतावनी दिएका छन ।
एलपी ग्यास बिक्रेता संघ कास्की मार्फत नागरिकको दैनिक जीवन गुजारा चलाउन ग्यास आपूर्ति गर्दै आएको भए पनि अब भने खोप नपाएसम्म ग्यास आपूर्ति गर्न नसकिने उनीहरूले बताएका छन्। संघले प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतममार्फत सरकारलाई ज्ञापन पत्र पठाएर खोपको सुनिश्चितता नहुँदासम्म कास्की जिल्लाभर भोलिदेखि ग्यास आपूर्ति बन्द रहने जानकारी दिएको हो।
आफूहरूलाई खोप लगाउन आवश्यक रहेको भनी तीन तहका सरकारहरूलाई अनुरोध गरिएको भए पनि कसैले सुनुवाइ नगर्दा आपूर्ति नै बन्द गरेर दबाब दिनुपर्ने अवस्था आएको अध्यक्ष बालकृष्ण कोइरालाले बताए ।
कास्कीमा ५० वटा ठुला र ३ सय साना डिलरबाट दैनिक १५ हजार ग्यास आपूर्ति हुँदै आएको छ। करिब ८ सय जना मजदुर यो ग्यास आपूर्तिमा दैनिक खटिने गरेका छन्। कास्कीमा १८ कम्पनीका ग्यास आपूर्ति हुँदै आएका छन्।