Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चीजबाट टाढा रहनुस्, मिर्गौला रोगबाट बच्न सकिन्छ

चीजबाट टाढा रहनुस्, मिर्गौला रोगबाट बच्न सकिन्छ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ११, २०७८ शुक्रवार • १०:१८:१० बजे
  • 790
    SHARES
  • चीजबाट टाढा रहनुस्, मिर्गौला रोगबाट बच्न सकिन्छ

    अस्वस्थ जीवनशैलीले मिर्गौला रोग लाग्ने भएकाले स्वस्थ जीवनचर्या बिताउनुपर्नेमा जोड दिइएको छ । बागमती सफाइ महाअभियान र हामी साथ छौँ अभियानले बिहीबार बेलुकी जुम प्रविधिबाट आयोजना गरेको प्रवचन कार्यक्रममा राष्ट्रिय मृगौला रोग केन्द्रका प्रमुख प्रा.डा ऋषिकुमार काफ्लेले ९० प्रतिशत मानिस मिर्गौला बिग्रिएपछि मात्र अस्पताल पुग्ने गरेको बताए । केन्द्रमा हाल दैनिक २ सय ५० मिर्गौला रोगीको डाइलासिस हुने गरेको छ । यसैगरी ५० जनाको मिर्गौला परीक्षण हुन्छ । अमेरिकाको ‘स्ट्याण्डर्ड’ खानाले धेरै मानिस बिरामी हुने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले खानामा साग सब्जीसहितको स्वस्थ चीजबीज उपभोग गर्नुपर्ने बताए ।

    images

    नेपालमा हाल तीन लाख मानिस मिर्गौला बिगारेर हिँड्ने गरको र तीन हजारको मिर्गौला फेल भएको केन्द्रले जनाएको छ । मिर्गौला रोगबाट बच्न शरीरमा पानीको व्यवस्थापन, उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रण गर्नुपर्नेमा डा.काफ्लेले जोड दिए । “मिर्गौला बिग्रिरहेका बेला कुनै लक्षण हुँदैन, अन्तिममा मात्र थाहा हुन्छ, मर्गौलामा समस्या भएपछि मुटु स्ट्रोकका कारण मानिस मर्छन्, दैनिक दुईदेखि तीन लिटर पिसाब आउने गरी पानी पिउनुस्, दिनमा १० हजार पाइला हिँड्नुस्, रातमा सात, आठ घण्टा सुत्नुस्, चुरोट, खैनी, जाँड, रक्सीले मिर्गौला बिगार्ने भएकाले यस्ता चीजबाट टाढा रहनुस्, मोटोपना, रक्तचाप भए घटाउने, मधुमेह ठीक राख्ने गरेमा मिर्गौला रोगबाट बच्न सकिन्छ”, उनले भने । स्वस्थ खाने, समयमा खाने, पेन किलर नखाने गर्नाले पनि मिर्गौला रोगबाट बच्न सकिन्छ ।

    पिसाबबाट प्रोटिन गएको छ भने मिर्गौलामा समस्या छ भन्ने प्रमाणित हुने भएकाले सजग हुन आह्वान गरिएको छ । मिर्गौला बचाऔँ अभियानलाई एक दान गर्न डा.काफ्लेले आह्वान गर्नुभयो । हाल काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा मिर्गौला जाँच हुने गरेको छ । पन्ध्र हजारको जाँच गर्दा ७ सयलाई मिर्गौला रोग भेटिएको केन्द्रको अभिलेख छ । शरीरको टक्सिन निकाल्न गुर्जो उपयोगी कार्यक्रममा निःशुल्क गुर्जोका बिरुवा र धुलो एवं चिया वितरण गर्दै आएका अभियानकर्मी कमलबहादुर राजलवटले गुर्जोको नियमित सेवनले रोग प्रतिरोधी क्षमता बढाउने बताए । गुर्जोले शरीरका टक्सिनलाई बाहिर निकाल्छ । गुर्जोको चिया र धुलो सेवन गर्नाले पाइल्स, आँखा, छालाको समस्या समाधान हुने गरेको छ । गुर्जो वात, पित्त, कफ त्रिदोष नाशक छ । प्राचीन कालदेखि नै औषधिका रूपमा उपयोग गरिँदै आएको गुर्जोले पाचनतन्त्र बलियो बनाउँछ । गुर्जोले बच्चा र वृद्धलाई जवान बनाउने एवं जवानलाई पहलमान बनाउने अभियानकर्मी राजलवट बताउँछन् । पाँच वर्षमुनिका बालबालिका र गर्भवती महिलाले भने गुर्जोका परिकार सेवन गर्नुहुँदैन । गुर्जोको बिरुवा रोपेको एक वर्षपछि परिपक्व बन्छ । एक वर्षमा गुर्जोको बिरुवामा सबै गुण आउँछ । विसं २०७६ चैतमा कोरोनाबाट बच्न बन्दाबन्दी गरिएदेखि यसबाट बनेको औषधि र बिरुवा निःशुल्क वितरण गर्दै आएका अभियानकर्मी राजलवटले त्यो अभियानलाई यस वर्ष पनि निरन्तरता दिएको छ । गत वर्ष एक लाख ४० हजार गुर्जोका बिरुवा रोपणका लागि निःशुल्क वितरण गरिएको उनले बताए ।

    कार्यक्रममा पूर्व मुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेलले सफाइ महाअभियान आठौँ वर्ष पूरा गरी नवौँ वर्ष प्रवेश गरेको अवसरमा सात हप्ताअघिदेखि हामी साथ छौँ अभियानसँग मिलेर कोरोनाबाट बच्न आवश्यक जानकारी दिन प्रवचन कार्यक्रम आयोजना गरिएको बताए विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियानले ५० औँ हप्ताका अवसरमा २०७१ वैशाख १ गते गुह्येश्वरीभन्दामाथिको वाग्मतीमा ढल मुक्त गरेर गुह्येश्वरीमा स्नान गरेकामा हाल पुनः प्रदूषित बनेको छ । नेपालमा अङ्ग दान गर्ने परम्परा विकास हुन नसकेको उल्लेख गर्दै पूर्व मुख्यसचिव पौडेलले आफूले देशमै पहिलोपटक छाला दान गरेको बताए । आगोबाट जलेकाका लागि छाला आवश्यक पर्ने गर्छ ।

    आफू मुख्यसचिव भएकै बेला ‘ब्रेन डेथ क्राइटेरिया’को कानूनी व्यवस्था गरेको उनले सुनाए । ब्रेन डेथ भएकाको छाला, मिर्गौला र कलेजो दान गर्न सकिने व्यवस्था छ । विकसित मुलुकमा ७५ प्रतिशत अङ्ग दानबाट पाइने गरेको छ । नेपालमा पनि अङ्गदान सबैभन्दा ठूलो दान हो भन्ने मान्यतालाई स्थापित गर्न अभियान चलाइनुपर्नेमा जोड दिइएको छ । अभियानकर्मी डा माला खरेलले महाअभियान र हामी साथमा छौँ अभियानको आयोजनामा साप्ताहिकरूपमा भइरहेको प्रवचनले धेरैलाई स्वस्थ जीवनयापनको सूत्र दिने भएकाले यसलाई निरन्तरता दिने बताए ।

    अभियानकर्मी राजकुमार भट्टराईले वाग्मतीबाट हालसम्म २० हजार टन फोहर व्यवस्थापन गरिएको बताए । सफाइ महाअभियानमा १२ लाख स्वयंसेवीले सफाइमा साथ दिएका छन् । महाअभियानबाट प्रभावित भएर उपत्यकामा वाग्मती, सहायक नदी, चक्रपथ, सम्पदा स्थलसहित २० स्थान र उपत्यका बाहिरका मुख्य नदी, शहर र सांस्कृतिक सम्पदामा सफाइ भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # मिर्गौला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology