डोलपा । घरमै सुत्केरी गराउने क्रममा एक महिलाको अत्याधिक रक्तश्रावबाका कारण मृत्यु भएको छ ।
डोल्पाको ठूलीभेरी नगरपालिका–६, दूरगाउँकी २४ वर्षीया आतमाया विकको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो । विक स्वास्थ्य संस्था नगइ शुक्रबार राति घरमै सुत्केरी भएकी थिइन् ।
नवजात शिशुको स्वास्थ्य अवस्था भने सामान्य छ । नगरपालिका स्वास्थ्य संयोजक खड्कबहादुर बुढाले घरमै सुत्केरी भएको र सालनाल ननिस्किएपछि अस्पताल लैजाने तयारी गर्दागर्दै विकको मृत्यु भएको जानकारी दिए ।
शुक्रबार राति अस्पताल टाढा भएको भन्दै उनलाई अस्पताल लगिएको थिएन । सुत्केरीलाई थप उपचारका लागि प्रसूति गृह लैजानका लागि बिहानै स्वास्थ्यकर्मी घरमा पुग्दा उनको मृत्यु भइसकेको बुढाले बताए ।
जिल्ला सदरमुकाम दुनै भन्दा ५ घण्टा पैदल दूरीमा दूरगाउँ रहेको छ । अघिल्लो वर्ष पनि यही ठाउँमा घरमै सुत्केरी भएकी एक महिलाको पनि मृत्यु भएको थियो । यहाँका अधिकांश गर्भवती महिलाले गर्भ जाँच गराउन नपाएको र स्वास्थ्य संस्था टाढा हुँदा समस्या भइरहेको बताएका छन् ।