स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै स्पेन युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा १० खेलाडी समेटिएको स्वीट्जरल्याण्डलाई निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा पुगेपछी पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै स्पेनसेमिफाइनल पुगेको हो ।
स्पेनका गोलकिपर उनाई सिमोनले दुई प्रहार रोकेका थिए । स्वीस गोलकिपर यान सोमेरले एक पेनाल्टी रोकेपनि तीन खेलाडी गोल गर्न असफल हुँदा बाहिरिनुपर्यो । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा थप गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
त्यसअघि खेलको आठौं मिनेटमा स्पेनले आत्मघाती गोलबाट अग्रता बनाएको थियो । स्पेनका जोर्डी अल्वाको प्रहार स्वीट्जरल्यान्डका डेनिस जाकारियालाई लाग्दै गोलमा परिणत भएको थियो । तर ६८ औं मिनेटमा स्वीट्जरल्याण्डका जेद्रान शाकिरीले बराबरी गोल गरेका थिए । खेलको ७८ औं मिनेटमा स्वीट्जरल्यान्ड १० खेलाडीमा समेटियो । रेमो फ्रिउलर रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
स्पेनका जेरार्ड मोरेनोलाई खराब ट्याकल गरेका काणा उनलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए । अन्तिम १६ मा विश्वकप विजेता फ्रान्सलाई पेनाल्टीसुटआउटमा पराजित गरेको स्वीट्जरल्याण्ड यस पटक भने सफल हुन सकेन ।
जर्मनीसँगै सर्वाधिक तीन पटकको च्याम्पियन स्पेन भने ९ वर्षपछि सेमिफाइनलमा पुगेको छ । २००८ र २०१२ मा लगातार उपाधि जितेको स्पेन २०१६ मा भने क्वाटरफाइनलबाटै बाहिरिएको थियो । स्पेनले अब सेमिफाइनलमा इटालीसँग खेल्नेछ ।