पोखरा । पछिल्लो २४ घण्टामा कास्कीमा १४९ जना सहित गण्डकी प्रदेश भरी ३६६ जनामा कोरोना पुष्टि भएको छ ।
कास्की सँगै तनहुँका पाँच जना, लमजुङका २१ जना, नवलपुरका १४ जना र स्याङ्गजाका ४६ जनामा कोरोना पुष्टि भएको छ ।यस्तै, पर्वतका ४२ जना, बागलुङका ८४ जना र म्याग्दीका पाँच जनाको परीक्षणमा पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १९० जनामा गरिएको नमुना परीक्षणमा थप उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो। आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५७ हजार ११६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ४८० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५३ हजार १३४ पुगेको छ।
आइतबार गण्डकीमा दुई जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टी हुनेमा पर्वत जिल्ला बिहादी गाउँपालिका -३ निवासी ८२ वर्षीय वृद्ध र तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका -४ निवासी ६० वर्षीय पुरुष रहेका छन् । आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९६१ पुगेको निर्देशनालयले जनाएको छ ।