पहिलो सेमिफाइनल खेलमा पेरूलाई १-० गोलले पराजित गर्दै ब्राजिल कोपा अमेरिका २०२१ को फाइनलमा पुगेको छ।
मंगलबार विहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा पेरूलाई १-० गोलले पराजित गर्दै ब्राजिल उपाधि नजिक पुगेको हो।
ब्राजिलको जितमा लुकास पाक्युटा नायक सावित भए। उनले गरेको एक मात्र गोलको मद्दतमा आयोजक ब्राजिल लगातार दोस्रो पटक कोपा अमेरिकाको फाइनलमा पुग्न सफल भयो। खेलको ३५ मिनेटमा गोल गर्दै पाक्युटाले ब्राजिललाई अग्रता दिलाएका थिए। नेइमारले उपलब्ध गराएको पासमा उनले पेनाल्टी बक्सबाट गोल गरेका थिए।
अब उपाधिका लागि ब्राजिलले अर्जेन्टिना वा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ। कोलम्बिया र अर्जेन्टिनाबीचको दोस्रो सेमिफाइनल बुधबार विहान हुनेछ। नौ पटकको विजेता ब्राजिलले सन् २०१९ को उपाधि भिडन्तमा पेरूलाई पराजित गर्दै उपाधि जितेको थियो।
ब्राजिलले २००४ र २००७ मा लगातार उपाधि जितेको थियो। दुवै फाइनलमा ब्राजिलले अर्जेन्टिनालाई हराउँदै उपाधि कब्जा गरेको थियो।