झापा । झापा विर्तामोडमा होटलमा लुकाईराखेको अवस्थामा भेरोसेल खोप प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्काले आफु निकटलाई लगाउनका लागि होटलमा लुकाएर राखिएको अवस्थामा २ सय जनालाई पुग्ने खोप बरामद गरेको प्रहरीले जनाएको छ ।
फोकल पर्सन खड्कालाई समेत अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जनाए । कुन उद्देश्यले होटलमा खोप लुकाइएको हो भन्नेबारे अनुसन्धान सुरु भएको उनले बताए ।कोरोनाविरुद्धको खोप मापदण्ड विपरित आफू निकटलाई दिने गरेको सार्वजनिक भइरहेका बेला खड्का पक्राउ परेका हुन्।
नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले बिर्तामोडको होटल टाइमलेस मोमेन्ट्समा खोपसहित खड्कालाई रंगेहात समातेर प्रहरीको जिम्मा लगाएका हुन्।
केही दिनयता खड्काले सो होटलमा आफ्ना नजिकका मानिसलाई बोलाएर खोप लगाउने गरेको सूचना पाएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले खड्कालाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए।
खड्काले भने आफू होटेलमै क्वारेन्टिनमा रहेकाले त्यहीँ खोप ल्याइएको दाबी गरेका छन्। उनले स्वास्थ्य कार्यालय झापाबाट पठाएको खोप त्यहाँ जिम्मा लिएको बताए।