Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पचास प्रतिशत नबढ्ने गरी पाहुना राख्न पाउने गरी बागलुङका होटललाई सेवा सञ्चालनको अनुमति

पचास प्रतिशत नबढ्ने गरी पाहुना राख्न पाउने गरी बागलुङका होटललाई सेवा सञ्चालनको अनुमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १५, २०७८ शुक्रवार • २०:२०:४१ बजे
  • 700
    SHARES
  • पचास प्रतिशत नबढ्ने गरी पाहुना राख्न पाउने गरी बागलुङका होटललाई सेवा सञ्चालनको अनुमति

    बागलुङ । पचास प्रतिशत नबढ्ने गरी पाहुना राख्न पाउने गरी बागलुङका होटललाई सेवा सञ्चालनको अनुमति दिइएको छ ।

    images

    जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जनस्वास्थ्य मापदण्डको पूर्ण पालनासहित आजदेखि आधा क्षमतामा होटल खोल्न दिने निर्णय गरेको हो । यसअघि होटल तथा रेष्टुराँलाई साँझ ७ बजेसम्म मात्र ‘टेक अवे’ र ‘होम डेलिभरी’ दिन पाउने प्रावधान तोकिएको थियो ।

    व्यवसायीको मागलाईसमेत दृष्टिगत गरी होटल सञ्चालनको अनुमति दिइएको केन्द्रले जनाएको छ । होटल व्यवसायीले प्रमुख जिल्ला अधिकारीसमक्ष खोपको प्रबन्ध र व्यवसाय सञ्चालनमा सहजीकरण गर्न माग गर्दै गत सोमबार ज्ञापनपत्र बुझाएका थिए । होटल व्यवसायी र कर्मचारीले छिट्टै खोप पनि पाउने भएका छन् ।

    बागलुङ होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारीले स्वास्थ्य मापदण्ड अपनाएर सेवा दिन होटल तयार रहेको बताउनुभयो । सेवा क्षेत्रका व्यवसायमा आबद्ध सबैलाई खोपको सुनिश्चिता हुनुपर्ने उहाँको भनाइ छ । कोरोनाको प्रत्यक्ष मारमा परेको होटल क्षेत्रलाई उकास्न राज्यले व्यवसायी लक्षित राहत तथा पुनःस्थापना कार्यक्रम ल्याउनुपर्ने माग गर्दै आएका छन् ।

    जिल्लामा झण्डै २०० होटल तथा रेष्टुराँ छन् । बन्दाबन्दी र निषेधाज्ञाका कारण विगत डेढ वर्षदेखि व्यवसाय थलिएको छ । कतिले रोजगारी गुमाएका छन् । रेष्टुराँ सञ्चालनमा भने अझै पनि कडाइ कायमै छ । रेष्टुराँ तथा खाजाघरले साँझ ७ बजेसम्म मात्र ‘टेक अवे’ र ‘होम डेलिभरी’ सेवा दिन पाउँछन् । खुकुला प्रावधानसहित जारी निषेधाज्ञा अर्को सूचना जारी नभएसम्म यथावत् रहने केन्द्रले जनाएको छ ।

    सार्वजनिक यातायातदेखि पसल, व्यवसाय सबैलाई समय र सेवाको मापदण्ड तोकेर खुला गरिएको छ । शैक्षिक संस्था, मठ मन्दिरलगायत मानिसको भीडभाड हुने क्षेत्रमा भने प्रतिबन्ध कायमै छ । सहकारी, बैंक तथा वित्तीय संस्थाले पनि पूर्ववत्रुपमा नियमित सेवा दिइरहेका छन् । सहकारीले घरदैलो गरेर बचत सङ्कलन गर्ने कार्यमा भने रोक लगाइएको छ ।

    ‘पार्टी प्यालेस’, सौन्दर्य व्यवसाय, शैलुन, जिमखाना, खेलकूदस्थल, सिनेमा घर, तालीम केन्द्र आदि सञ्चालनमा भने रोक लगाइएको छ । धार्मिकस्थलमा पनि नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्न पाइने जनाइएको छ । अत्यावश्यक काम नपरी घर बाहिर हिँडडुल नगर्न र जानै परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्यरुपमा अपनाउन जनसाधारणमा आग्रह गरिएको छ ।

    कोरोना भाइरस सङ्क्रमण रोक्न जिल्लामा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ । यहाँ कोरोनाका सक्रिय सङ्क्रमित ३४४ छन् भने ६२ जनाले सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । रासस

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology