पर्सा । पर्सामा नेपाली सेना, नेपाल प्रहरी र पत्रकारसहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ६१ जना पुरूष र १२ जना महिला संक्रमिति भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले दिए । संक्रमित हुनेमा १० वर्षकी बालिकादेखि ६७ वर्षकी वृद्ध महिलासमेत रहेका छन् ।
नारायणी अस्पतालका मेसु उपाध्यायले जानकारी दिएअनुसार आइतबार राति संक्रमण पुष्टि भएका ७३ जनामा मास ट्रेसिङ, एक घर एक परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा परेका रहेका छन् । मास ट्रेसिङमा पिसिआर जाँच गराएका २६ जना, एक घर एक परिक्षण जाँच गराएका ७ जना र कन्ट्याक्ट ट्रेसिङमा परेका २५ जना रहेको मेसु उपाध्यायले जानकारी दिए ।
त्यसैगरी नेपाल प्रहरीका २ जना, नेपाली सेनाका १ जना, पर्साका पत्रकार १ जना, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका ५ जना, बारा जिल्लाका ५ जना र १ जना भारतीय नागरिक रहेको मेसु उपाध्यायले जानकारी दिए । साउन ८ गते देखि १७ गतेसम्म स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिए । पर्सामा कोरोना संक्रमितको संख्या ५ सय ८० जना पुगेको छ ।