लकडाउन हटेसँगै नेपाल–भारत सीमा नाका खुकुलो भएपछि प्रदेश २ मा कोरोनाबाट संक्रमित र मृतकको ग्राफ बढ्दो छ ।
प्रदेशभरिमा १८ जनाको मृत्यु भइसकेको छ । ४ हजार ७ सय ६८ जना संक्रमित भएका छन् । महोत्तरीका कोभिड फोकल पर्सन गिरेन्द्र झाले कोरोना संक्रमण समुदायमा फैलिन लागेको जानकारी दिए । प्रादेशिक स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाका अनुसार भारतबाट कोरोना फैलिइरहेको छ । नेपालभन्दा भारतमा संक्रमण दर ठूलो छ। ‘लकडाउन खुलेपछि भारतबाट लुकीछिपी मानिसहरू नेपाल आए। उनीहरू सीधैं परिवार र काम गर्ने स्थलमा पुगें’, झाले भने, ‘त्यसले गर्दा प्रदेश २ मा कोरोना फैलियो ।’
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको लौनिया टोलमै २५ जना संक्रमित भेटिएका छन् । गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा कार्यरत दुई स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ । लौनियाका ५० वर्षीय एक बिरामीमा साउन ९ गते कोरोना संक्रमण देखिएको थियो । त्यसपछि परिवारका पाँच, गाउँले एक र उनको उपचारमा संलग्न एक स्वास्थ्यकर्मीमा संक्रमण देखियो ।
त्यसपछि उनको सम्पर्कमा रहेका १ सय ६ जनाको स्वाब बुधबार संकलन गरिएको थियो। तीमध्ये २५ जनामा संक्रमण देखिएको गाउँपालिकाको विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले बताए । आकस्मिक कक्षमा उपचारमा संलग्न चार चिकित्सकसहित १४ स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको थियो । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।