जापानबाट कोरोनाविरुद्को खोप नेपाल आइपुगेको छ । जापानले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये आज २ लाख ८ हजार ७ सय डोज खोप आइपुगेको हो । यसअघि ९ लाख डोज खोप आइसकेको छ । अब बाँकी रहेको खोप ७ गते नेपाल आउने बताइएको छ । व्यवस्थापन महाशाखाका अनुसार १६ लाखमध्ये दुई चरणमा गरी बाँकी सात लाख डोज खोप नेपाल आउन लागेको हो ।
यसअघि जापानबाट ९ लाख खोप नेपाल आइसकेको छ । उक्त खोप चैतमा कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका नागरिकलाई लगाइएको छ । अब आउने खोप प्रदेश १ र २ मा कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइने छ । बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.झलक शर्माले उक्त खोप आएपछि प्रदेश १ र २ मा कोभिशिल्डको दोस्रो मात्राका रुपमा दिइने जानकारी दिए ।
नेपालमा यसअघि कोभिशिल्ड २४ लाख ४८ हजार कोभिशिल्ड, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० एस्ट्राजेनेका गरी १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ । स्वास्थ्य तथा जनसंख्याको शुक्रबारसम्म ३७ लाख ९९ हजार १७८ जनाले कोरोनाविरुद्धको पूर्ण र ४९ लाख ७ हजार ५२३ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् ।