विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय नेपालमा पनि बढ्दो छ ।कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न झण्डै चार महिना गरिएको लकडाउन अन्त्य भएसँगै मानिसको चहलपहल बढेपछि संक्रमणको जोखिम पनि बढेको छ ।
कोरोना संक्रमणको बढ्दो गतिलाई फैलन नदिन अहिलेसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी भएको छ । सरकारले संक्रमणको गति र अवस्था हेरेर स्थानीय प्रशासनलाई नै आवश्यक निर्णय गर्न सक्ने अधिकार दिएपछि १२ वटा जिल्लामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका हुन् ।
मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । केही जिल्लामा पूर्ण निषेधाज्ञा लागू गरिएको छ भने केहीमा बढी प्रभावित रहेका स्थानीय तह र वडामा मात्रै निषेधाज्ञा गरिएको छ ।
सप्तरी, बाँके, बारा र पर्सामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ, नुवाकोट र दार्चुलामा केही स्थानीय तह र स्थानीय तहभित्रका केही वडामा मात्रै निषेधाज्ञा लागू गरिएको छ ।
जिल्लामा संक्रमणको अवस्था हेरेर थप जिल्लाले समेत निषेधाज्ञा जारी गर्नुपर्ने वा नपर्ने निर्णय गर्ने अधिकार जिल्लास्थित प्रमुख जिल्ला अधिकारीलाई दिइएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिनुभयो । अहिलेसम्म नेपालमा संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । उनीहरूमध्ये ५८ जनाको मृत्यु भएको छ भने १५ हजार २० जना उपचारपछि निको भएका छन् ।