वर्षापछि आएको बाढीका कारण रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासिएको छ । पुल भासिएपछि पूर्व–पश्चिम राजमार्गमा यातायात आवागमन अवरुद्ध भएको छ । पुल भासिएसँगै उक्त सडकखण्ड हुँदै चल्ने सवारी साधनहरु अलपत्र परेका छन् ।
ट्राफिक प्रहरीका अनुसार नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–१० लण्डनब्रिजस्थित पूर्वपश्चिम राजमार्गको सडकखण्ड बासा, भुताहा र सुनवल नगरपालिका–१२ बडेरास्थित रहेको डाइभर्सन पनि बाढीले बगाएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार अविरल वर्षाका कारण रुपन्देहीको तिलोत्तमाको मणिग्राम, शान्तिनगर, सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार, भैरहवा, परासी बजार लगाएतका ठाउँहरु डुवानमा परेका छन ।
त्यस्तै निरन्तरको वर्षाका कारण तिनाउ, दानव, रोहिणी नदी तटीय क्षेत्र पनि डुवानमा परेको छ । वर्षातका कारण तिनाउ र कपिलवस्तुको वाणगंगा नदी आसपासको क्षेत्र पनि जोखिममा परेको भन्दै सतर्कता अपनाउन प्रहरी र स्थानीय तहले आग्रह गरेका छन् ।