पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, काठमाडौं उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६२ जनामा कोरोना संक्रमण भएको पुष्टि भएका हुन् ।
काठमाडौंका ५७ जना र ललितपुरका ५ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार पनि उपत्यकामा ६२ जनामा कोरोना संक्रमण देखिएको थियो । मन्त्रालयका अनुसार बुधबारसम्म ६ हजार १ सय ७४ जना कोरोनाका सक्रिय बिरामी छन्। जसमध्ये प्रदेश १ मा ३१२ जना, प्रदेश २ मा २ हजार ६ सय २२ जना, बागमती प्रदेशमा ७८५ जना, गण्डकी प्रदेशमा २७२ जना, प्रदेश ५ मा ३४० जना, कर्णली प्रदेशमा २९२ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ५१ सक्रिय बिरामी रहेको मन्त्रालयले जनाएको छ। यस्तै बुधबार थप ३८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या २१ हजार ३९० पुगेको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३० जनाले कोरोना जितेर घर फर्किएका छन् । योसहित कोरोना जित्नेको कुल संख्या १५ हजार १ सय ५६ पुगेको छ।