Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालले जित्यो पीएनजीविरुद्धको एक दिवसीय सिरिज

नेपालले जित्यो पीएनजीविरुद्धको एक दिवसीय सिरिज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २६, २०७८ शनिवार • १०:३८:४७ बजे
  • 1.0K
    SHARES
  • नेपालले जित्यो पीएनजीविरुद्धको एक दिवसीय सिरिज

    नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज जितेको छ । शुक्रबार सम्पन्न दोस्रो खेलमा पीएनजीलाई १ सय ५१ रनले हराउँदै नेपालले सिरिज २ शुन्यले आफ्नो बनाएको हो ।

    images

    पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटको जित निकालेको थियो । नेपालको यो एकदिवसीय अन्तराष्ट्रिय खेलमा सर्वाधिक धेरै रन अन्तरको जित हो ।

    यसअघि नेपालले सन २०१९ मा यूएईविरुद्ध १ सय ४५ रनको जित निकालेको थियो । नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर १ बलमा अलआउट हुँदै ८२ रनमा समेटियो ।

    ओमानको अल अमिरात क्रिकेट मैदानमा पीएनजीका लागि टोनी उराले सर्वाधिक १९ रन बनाए । नेपाली बलर चम्किएको खेलमा पीएनजीका चार्ल्स अमिनीले १६, नोर्मन भानुवाले १२ तथा सेसे बाउले ११ रन बनाए ।

    गौडी टोका १० रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । पीएनजीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने एक्लैले ६ विकेट लिए ।

    लेग स्पिनर सन्दीपले मात्र ११ रन खर्चिए । प्लेयर अफ दि म्याच बनेका सन्दीपको यो करियरकै उत्कृष्ट बलिङ हो । यस अघि सन्दीपको ६ विकेट १६ रन उत्कृष्ट बलिङ फिगर रहेको थियो ।

    यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ३ बलमा अलआउट हुँदै २ सय ३३ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेलले ८६ रनको अर्धशतकीय इनिङ्स खेले ।

    रोहितले १ सय २३ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे । एकदिवसीय अन्तराष्ट्रियमा उनको यो दोस्रो अर्धशतक हो । रोहितलाई राम्रो साथ दिएका अलराउण्डर करण केसीले ४२ रन बनाए ।

    उनले २६ बलमा उक्त रन बनाएका हुन् । उनले २ चौका र ४ छक्का प्रहार गरे । बिक्रम सोब १ रनमा पेभेलियन फर्किदा सन्दीप लामिछाने र सुसन भारी अंक नखोली आउट भए ।

    नेपालको सुरुवात समेत राम्रो रहेन । ओपनर कुशल भुर्तेल र आरिफ शेख समान ३ रनमा आउट भएपछि दबाबमा आएको नेपालको इनिङ्स कप्तान ज्ञानेन्द्र मल्लले उकासेका थिए ।

    उनले ७० बलमा ३ चौका र २ छक्काको मदतले ४५ रन बनाएका थिए । बिनोद भण्डारी १७ रनमा रन आउट भए । कुशल मल्ल १ र सोमपाल कामी ११ रनमा आउट भए ।

    त्यस्तै पीएनजीका चाड सोपरले सर्वाधिक ३ विकेट लिए । कबुआ मोरिया र नार्मन भनुवाले २÷२ विकेट लिए । चार्ल्स अमिनीले १ विकेट लिए । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग सिरिज खेलेको हो ।

    लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पहिलो खेल अमेरिकासँग भदौ २८ गते प्रतिस्पर्धा गर्नेछ । नेपालले दोस्रो खेलमा ओमानसँग भदौ २९ गते प्रतिस्पर्धा गर्नेछ ।

    नेपालले तेस्रो खेलमा अमेरिकासँग असोज १ गते प्रतिस्पर्धा गर्नेछ । यस्तै नेपालले आफ्नो अन्तिम खेलमा ओमानसँग असोज ३ गते खेल्नेछ । यस अघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा "ओमान र अमेरिका"सँग ४ खेल खेलिसकेको छ ।

    जसमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो भने ओमानसँग दुबै खेलमा पराजित भएको थियो । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।

    ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ "अंक" जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # एक दिवसीय सिरिज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology