Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आइसीसी विश्वकप क्रिकेट लिगमा : नेपाल अमेरिकासँग पराजित

आइसीसी विश्वकप क्रिकेट लिगमा : नेपाल अमेरिकासँग पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २, २०७८ शनिवार • ०९:५०:४७ बजे
  • 1.4K
    SHARES
  • आइसीसी विश्वकप क्रिकेट लिगमा :  नेपाल अमेरिकासँग पराजित

    आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग छ विकेटले पराजित भएको छ ।

    images

    ओमानको अल अमिरात क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा नेपालले जितका लागि दिएको १७५ रनको लक्ष्य अमेरिकाले २९ दशमलव तीन ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । नेपाल अमेरिकासँग एकदिवसीयमा पहिलो पटक पराजित भएको हो ।

    अमेरिकाको जितमा स्टेभेन टेलरले ९२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ६३ बलमा १२ चौका र तीन छक्का प्रहार गरे । यस्तै मोनान्क पटेलले अविजित ३८ रन जोड्दा जस्करण मल्होत्राले अविजित ३६ रन बनाए ।

    सुसान्त मोदानीले दुई रन जोडे । नेपालका सन्दीप लामिछाने र करण केसीले २\२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाउँदै १७४ रनको योगफल बनाएको थियो ।

    नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । उनले १०५ बलमा तीन चौका प्रहार गरे । ओपनर कुशल भुर्तेलले ३६ रन जोड्दा डेब्यु खेलाडी गुलशन झाले २८ रन बनाए ।

    त्यस्तै करण केसीले १२, विनोद भण्डारीले १० तथा रोहित पौडेल र सोमपाल कामी २\२ रनमा आउट भए । ओपनर आसिफ शेख पनि तीन रनमा आउट भए । सन्दीप लामिछाने ११ रनमा आउट हुँदा सुशन भारीले अविजित दुई रन जोडे ।

    अमेरिकाका कप्तान सौरभ नेत्राभाल्करले चार विकेट लिए भने केली फिलिपले तीन विकेट लिए । त्यस्तै करिमा गोर, एल्मोर हुचिन्सन, नास्टुश केनिजेगेले एक\एक विकेट लिए ।

    यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित हुन पुगेको थियो । नेपालले अन्तिम खेल ओमानसँग आइतबार खेल्नेछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology