ताप्लेजुङका भरतमणि पौडेलले रियालिटी सो 'कमेडी च्याम्पियन-२' को उपाधि जितेका छन्।
विक्की अग्रवाल र सन्तोष थापालाई हराउँदै पौडेलले शनिबार राति भएको फाइनलमा उपाधि जितेका हुन्।
पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुति दिएर निकै चर्चामा आएका पौडेलले उपाधि जितेका हुन्।
उपाधिसँगै पौडेलले कार र २५ लाख नगदसमेत पाएका छन्।
आफ्नो भोगाइ मिसाएर समय सान्दर्भिक सामाजिक तथा राजनीतिक व्यंग्य गर्ने उनको खुबीलाई दर्शकले अत्यधिक रूचाएका थिए। ताप्लेजुङवासी उनी रेडियो तमोरमा 'टेन्सन-फ्री' कार्यक्रम चलाउँथे।
यही कार्यक्रममार्फत उनले पूर्वाञ्चल हुँदै काठमाडौंसम्म आइपुग्ने आधार बनाएका हुन्।
उनले भद्रगोल टेलिशृंखलामा समेत अभिनय गरेका छन्। कमेडी च्याम्पियन-२ का निर्णायकमध्ये एक मनोज गजुरेलसँग लामो संगत गरेका उनीसँगै भरतमणिले रेडियो नेपालमा कायर्क्रमसमेत चलाएका थिए।
यस्तै भारत सिक्किमका विक्की अग्रवाल दोस्रो भए। उनले मोटरसाइकल पाए।
यस्तै गोरखाका सन्तोष थापा तेस्रो भएका छन्। उनले स्कुटर जितेका छन्।