वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाई नेपाल ल्याउन नसकिएका १७२ जना नेपालीको शव विदेशमै अन्त्येष्टि गर्न मृतकका परिवारसँग सहमति प्राप्त भएको छ । वैदेशिक रोजगार बोर्डले दिएको जानकारी अनुसार लकडान सुरु भएदेखि नेपाली श्रम गन्तव्य भएका विभिन्न मुलुकमा रोकिएका जम्मा ४९४ शवमध्ये १७२ जनाको शव विदेशमा नै अन्त्येष्टि लागि सहमति प्राप्त भएको हो ।
यसमध्ये २४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । बोर्डले दिइएको जानकारी अनुसार विदेशमा १५ जना महिलाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी साउदीमा एक महिलासहित १७३ जना नेपालीले ज्यान गुमाएका छन् । सबैभन्दा कम ओमानमा दुई जना पुरुषले ज्यान गुमाएका छन् । यसै गरी मलेसियामा ९२ जना नेपालीले ज्यान गुमाएकोमा आठ जनाको विदेशमा अन्त्येष्टि लागि सहमति प्राप्त भएको र ८४ जनाको शव परिवारलाई बुझाइएको छ ।
युएईमा पाँच महिलासहित ८३ जनाले ज्यान गुमाएकोमा ६० जनाको शव विदेशमा अन्त्येष्टिको लागि सहमति प्राप्त भएकोमा १८ जनाको शव परिवारलाई बुझाइएको र बाँकी पाँच जनाको शव विदेशमै रहेका छन् । कतारमा दुई महिलासहित ७७ जना नेपालीले ज्यान गुमाएकोमा २७ जनाको शव विदेशमै अन्त्यष्टिको लागि सहमति प्राप्त भएको र ४९ जनाको शव नेपाल ल्याइ परिवारलाई बुझाइएको छ ।
एक जनाको शव विदेशमै रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । कुवेतमा छ महिलासहित २५ जना नेपालीले ज्यान गुमाएकोमा १३ जनाको शव अन्त्येष्टिका लागि सहमति प्राप्त भएको र १० जनाको शव नेपालमा परिवारलाई बुझाइएको दुई जनाको शव विदेशमै रहेको छ । बहराइनमा ११ पुरुषले ज्यान गुमाएकोमा चार जनाको शव विदेशमा अन्त्येष्टिका लागि सहमति प्राप्त भएको र छ जनाको शव नेपाल ल्याइ परिवारलाई बुझाइएको छ । एक जनाको शव विदेशमै रहेको छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।