Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मनाङ भित्रिने कामदार र कर्मचारी बढ्दै,सङ्क्रमणको जोखिम पनि बढेको भन्दै स्थानीयवासी चिन्तित

मनाङ भित्रिने कामदार र कर्मचारी बढ्दै,सङ्क्रमणको जोखिम पनि बढेको भन्दै स्थानीयवासी चिन्तित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २५, २०७७ आइतवार • १६:२७:३१ बजे
  • 1.1K
    SHARES
  • मनाङ भित्रिने कामदार र कर्मचारी बढ्दै,सङ्क्रमणको जोखिम पनि बढेको भन्दै स्थानीयवासी चिन्तित
    लामो समयपछि बन्दाबन्दी खुकुलो भएर मनाङ भित्रिने कामदार र कर्मचारी बढ्दैन्दी खुकुलो भएर मनाङ भित्रिने कामदार र कर्मचारी बढ्दैछन्। बन्दाबन्दी खुलेसँगै कोभिड–१९ को सङ्क्रमण पुनः फैलँदै गएको छ भने कोभिड सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्यासमेत बढ्दै गएको छ। कामदार मनाङ भित्रिँदै गर्दा कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि बढेको भन्दै स्थानीयवासी चिन्तित देखिएका छन्।

    जिल्लामा विभिन्न ठाउँबाट कामका लागि दैनिक ४० देखि ६० जनाका दरले भित्रन थालेका छन्। यहाँ गोरखा, लमजुङ, रुकुम, रोल्पा, रसुवालगायत जिल्लाबाट कामको खोजीमा कामदार भित्रने गरेको सीमा प्रहरीचौकी तालले जनाएको छ। केही स्थानलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको जोखिमयुक्त जिल्ला घोषणा गरिसकेको छ तर मनाङमा कामदार तथा कर्मचारी भित्रिँदै गर्दा जोखिम भने बढेको देखिन्छ।

    मनाङमा कुन ठाउँमा कसले काम गराउने हो, सबैको रेकर्ड राखेर कामदारलाई छाड्ने गरिएको र आरडिटी गरेर गन्तव्यमा जान दिने गरिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले बताए। घलेका अनुसार आफ्नो पालिकाभित्र आउने कामदारलाई सेल्फ क्वारेन्टिनमा राख्ने र कार्य क्षेत्रभन्दा बाहिर हिँड्डुल गर्नसमेत रोक लगाइएको बताए। अहिले चामे गाउँपालिकाअन्तर्गत जिल्ला अस्पताल र जिल्ला कारागारको भवन निर्माणको काम भइरहेको र यिनै स्थानमा कामदार आएको घलेले जानकारी दिए। सम्बन्धित ठेकेदारलाई कामदार तथा कर्मचारीको पिसिआरलगायत आवश्यक स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरिएको उनले बताए।

    त्यस्तै हाल  जिल्लामा चामे, मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका लागि कामदार भित्रिएको बताइएको छ। देशैभर जोखिम बढ्दै गएको अवस्थामा धेरै मात्रामा बाहिरबाट आएका कामदार जिल्लामा निर्बाध रुपमा भित्रँदा सर्वसाधारणमा त्रास छाएको छ। कामको खोजीमा कामदार नासो गाउँपालिका हुँदै जिल्ला भित्रन थालेपछि स्थानीयवासी चिन्तित बनेका छन्। स्थानीयवासीका अनुसार यसपटक यार्सा सङ्कलन नभएकाले मनाङमा आर्थिक सङ्कट त छँदैछ, उनीहरुबाट कोरोना सङ्क्रमणको मात्र जोखिम छैन, सुरक्षा थ्रेट पनि उत्तिकै देखिएको छ। काम गर्न आए पनि मनाङका स्थानीय सरकार र प्रशासनको समन्वयमा आरडिटी गरेर मात्र जिल्ला प्रवेशको अनुमति दिएको जनाइएको छ।

    प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बन्दाबन्दी खुलेपछि सर्वसाधारणको आवागमन स्वाभाविक रुपमै बढ्ने बताउँदै सुरक्षा सतर्कता पनि अपनाइरहेको बताए। काम गर्न आउने मान्छे कहाँबाट आएका हुन्, कता जाने हुन्, कसको जिम्मामा जाने हुन्, सम्बन्धित ठेकेदारले स्थानीय तहलाई जिम्मा लगाउने गरिएको प्रजिअ पौडेलको भनाइ छ। वर्षेनी गोरखा, धादिङ, रुकुम, नुवाकोट, रसुवालगायत जिल्लाबाट धेरै सङ्ख्यामा कामको खोजीमा मनाङ आउने गर्दछन् तर अधिकांश कामदार र कर्मचारीको पिसिआर रिपोर्ट भने नभएको सीमा प्रहरीचौकी तालले जनाएको छ।

    पिसिआर रिपोर्ट नआउँदा आवश्यक कामदार कर्मचारी ल्याउन नसकिएको क्याराभान कन्सल्टेन्सीका फिल्ड मेनेजर सोमनाथ थकालीले बताए। नासो गाउँपालिकामा भने बाहिरी कामदार नआएको तर अन्य स्थानीय तहमा कामदार आउने गरेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए। “गत वर्षको योजना सकिएकाले बाहिरबाट कामदार ल्याउनुपर्ने छैन, यहाँका साना योजनाहरु भने स्थानीय कामदार प्रयोग गरी निर्माणको काम भइरहेको छ तर गाउँपालिकाकै बाटो भएर प्रवेश गर्ने कामदारबाट भने जोखिम रहेको छ”, अध्यक्ष घलेले भने, “यही गाउँपालिकाअन्तर्गत भएर आउने कामदारलाई सिधै गन्तव्यमा जान अनुरोध गर्ने गरिएको छ।”

    सम्बन्धित क्षेत्रको सेल्फ क्वारेन्टिनमा बसी कामदारले काम गर्दै आएको नार्पाभूमि गाउँपालिकाले जनाएको छ। मनाङमा यार्सागुम्बा सङ्कलन गर्नदेखि विकासनिर्माणका काममा समेत गोरखा, लमजुङ, धादिङ, रसुवा र रुकुमकै मान्छे प्रयोग हुने गर्दछन्। मनाङमा हालसम्म एक कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएकामा उपचारपछि निको भएर घर फर्किसकेका छन्। यसपछि अन्य सङ्क्रमित नभेटिएकाले मनाङ कोरोनामुक्त जिल्लामा सूचीकृत छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology