Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

वास्तविक किसानलाई प्रोत्साहन गर्न गण्डकी प्रदेशमा किसानको वर्गिकरण गरिने

वास्तविक किसानलाई प्रोत्साहन गर्न गण्डकी प्रदेशमा किसानको वर्गिकरण गरिने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २५, २०७७ आइतवार • १६:५७:४७ बजे
  • 853
    SHARES
  • वास्तविक किसानलाई प्रोत्साहन गर्न गण्डकी प्रदेशमा किसानको वर्गिकरण गरिने
    गण्डकी प्रदेश सरकारले किसानको वर्गीकरणको तयारी शुरु गरेको छ। कृषि क्षेत्रको विकास र वास्तविक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यसहित गण्डकी प्रदेश सरकारले किसानको वर्गीकरण गर्न लागेको हो।

    तनहुँको बन्दीपुर गाउँपालिका–५ स्थित याम्पा दुग्ध उत्पादक कृषि सहकारी संस्थाका कृषकलाई अनुदान वितरण गर्न आज आयोजित कार्यक्रममा भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले कृषि पेशामा आबद्ध रहँदै आएका किसानको वर्गीकरणका लागि प्रदेश सरकारले काम शुरु गर्न लागेको जानकारी दिए।

    भूमि नभएका श्रमजीवी किसान, साना किसान, मध्यम किसान, ठूला किसान र उद्यमी किसानलाई छुट्टाछुट्टै रुपमा वर्गीकरण गरिने मन्त्री थापाले जानकारी दिए। ‘चार÷लाख लगानी गर्न सक्नेलाई साना किसान, १० लाखसम्म लगानी गर्न सक्नेलाई मध्यम किसान, ५० लाखसम्म लगानी गर्न सक्नेलाई ठूला किसान तथा सोभन्दा बढी लगानी गरी रोजगारी दिन सक्नेलाई उद्यमी किसानका रुपमा वर्गीकरण गर्छाैं’, मन्त्री थापाले भने।

    प्रदेश सरकारले कृषकलाई केन्द्रमा राखेर कार्यक्रम बनाएकाले कृषि क्षेत्रमा लगानीको अभाव नहुने मन्त्री थापाले बताए। ‘किसानलाई अब लगानीको अभाव हुन्न, कृषकलाई अनुदान, सरल व्याजमा ऋण प्रवाह गर्नका लागि प्रदेश सरकार प्रतिबद्ध छ, हरेक बैंकले पनि १५ प्रतिशत अनिवार्य लगानी कृषि क्षेत्रमा गर्नुपर्ने प्रावधान छ’, उनले भने।

    शिक्षित व्यक्ति पनि कृषि पेशामा आउनु खुशीको कुरा भएको उल्लेख गर्दै मन्त्री थापाले कृषि क्षेत्रमा सम्भावना रहेको उल्लेख गरे। कृषिमा उत्पादन वृद्धि गरी लागत घटाउन सरकारले सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाए। कोभिड–१९ बाट रोजगारी गुमाएकालाई कृषिमा रोजगारी दिन प्रदेश सरकारले १८ करोड बजेट विनियोजन गरेको मन्त्री थापाले जानकारी दिए।

    बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले दूधमा अनुदान दिने व्यवस्थाले पशुपालनमा कृषकको आकर्षण बढेकाले उक्त कार्यक्रमलाई चालू आर्थिक वर्षमा पनि निरन्तरता दिइएको बताए। दूधमा अनुदान वितरण गर्नका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा १५ लाख बजेट विनियोजन गरेको थियो भने उक्त कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको थापाले जानकारी दिए।

    याम्पा दुग्ध उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष छविलाल घिमिरेले सहकारीमा दूध बिक्री गर्ने कृषकलाई १० लाख २९ हजार वितरण गरिएको जानकारी दिए। उक्त सहकारीमा ११५ शेयर सदस्य र १५ गैह्रसदस्यले दैनिक दूध बिक्री गर्ने गरेका छन्। गत वर्ष दैनिक चार हजार दुई सय लिटर दूध सङ्कलन हुने गरेकामा यो वर्ष दैनिक तीन हजार ६०० लिटर दूध मात्रै सङ्कलन भएको थियो। गाउँपालिकाले यसअगाडि वडा नं १ स्थित सूर्योदय दूग्ध उत्पादक सहकारीमा आबद्ध कृषकलाई रु एक लाख १७ हजार ५०० वितरण गरेको थियो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology