पोखरा । चर्चित हास्यकलाकार मनोज गजुरेलले आज दोस्रो विवाह गरेका छन्। उनले परिवारको उपस्थितिमा आज बिहान डोलेश्वर महादेव पुगेर न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग लगनगाँठो कसेका हुन् ।
एक्लो जीवन बिताउन गाह्रो नै हुने र आफ्ना छोराछोरीको चाहना समेत बुझेर दोस्रो बिहे गर्ने निष्कर्षमा पुगेको उनले बताएका छन् ।उनले जीवन सधैँ सरल रेखामा नहिंड्ने भन्दै पहिलो विवाह बन्दन टुटेको चार वर्षपछि पुनः विवाह गरेको स्पष्ट पारे ।
“लामो वैवाहिक जीवन ४ वर्षपहिले कानुनीरुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ । त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको छ,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो ।
त्यसैगरी मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनु पनि जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबु–नानीको आग्रह पनि यस्तै आउन थाल्यो ।”
“पोखरेलजीसँग चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिवेश र उस्तै खालको भोगाइबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं । एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने बाचा गर्यौं,”
उनले लेखेका छन्, “अगाडि आईपर्ने सुख दुःखलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियौं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतिले पनि ठूलो मद्धत गर्यो ।”