Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीको राहुघाट जलविद्युत् आयोजनाः सुरुङ र बाँध निर्माण सुरु

म्याग्दीको राहुघाट जलविद्युत् आयोजनाः सुरुङ र बाँध निर्माण सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २६, २०७८ मंगलवार • ११:३८:३३ बजे
  • 733
    SHARES
  • म्याग्दीको राहुघाट जलविद्युत् आयोजनाः सुरुङ र बाँध निर्माण सुरु

    सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित म्याग्दीको राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माण करिब चार महिनापछि सुरुआत भएको छ ।

    images

    रघुगङ्गा गाउँपालिका–४ बुग्लको पहिराका कारण मजदुर, यातायात र ढुवानीका साधन आवतजावत गर्न नसकेपछि ४० मेगावाट क्षमताको राहुघाटको बाँध र १ नम्बर अडिटबाट सुरुङ निर्माण गत असार महिनादेखि रोकिएको थियो ।

    पहिरो पन्छाएर पहुँचमार्ग मर्मत गरेपछि बाँध क्षेत्रमा निर्माण सञ्चालन भएको आयोजनाको प्रवद्र्धक रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए ।

    “करिब चार महिनापछि निर्माणकार्य पुरानै लयमा फर्किएको छ”, उनले भने, “दसैँलगायत चाडपर्वको समयमा पनि आयोजना निर्माणलाई निरन्तरता दिएका छौँ ।” अँधेरीखोलाको अडिट–२ पुग्ने पहुँचमार्ग मर्मत गरेर गत भदौदेखि दुईतर्फी सुरुङ निर्माण सुरु गराइएको थियो ।

    भारतीय सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्स (जेपी) ले बाँधमा जग्गा व्यवस्थापनसँगै १ नम्बरको अडिटबाट सुरुङ खन्ने तयारी गरेको छ । बुग्लको पहिरोले तुदी हाइड्रोपावरद्वारा सञ्चालित ४८ मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण पनि रोकिएको थियो ।

    राहुघाट जलविद्युत् आयोजनाका व्यवस्थापक राज विष्टले बर्खायाममा प्रतिकूल मौसम र पहिराका कारण प्रभावित भएको निर्माणकार्य लयमा फर्किएको बताए ।

    नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत सेयर लगानीमा विसं २०७३ मा स्थापना भएको रघुगङ्गा हाइड्रोपावर लिमिटेडसँग विसं २०७४ मङ्सिरमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार जेपीले हालसम्म सर्चसाफ्ट र चारवटै अडिट (मुख्य सुरुङमा पुग्ने पहुँचमार्ग) को ब्रेकथ्रु गरेको छ ।

    भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण गर्न लागिएको यस आयोजनाको हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

    ठेकेदार कम्पनीले पर्याप्त मात्रामा मजदुर, उपकरण परिचालन गर्न र निर्माण सामग्री तथा उपकरण जुटाउन नसक्दा राहुघाट निर्माणमा ढिलासुस्ती भएको आयोजना प्रभावित क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–३ का अध्यक्ष जीवनकुमार मल्लले बताए ।

    ४५ महिनाको म्याद सकिएपछि प्राकृतिक विपद् र कोरोनाको महामारीलाई कारण देखाएर एक वर्ष म्याद थप गर्न प्रस्ताव गरेको छ । इलेक्ट्रोमेकानिकलतर्फ २०७६ कात्तिक महिनामा सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग सम्झौता भएको थियो ।

    बेनी–जोमसोम सडकको छेउमा पर्ने रघुगङ्गा गाउँपालिका–३ को तिल्केनीचौरमा विद्युत्गृह निर्माणका लागि प्रारम्भिक चरणको काम गरेको छ । पावरहाउसबाट दग्नाम र झिँको सिमानामा पर्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ । बुग्लस्थित रघुगङ्गा नदीमाथि ४० मिटर लामो ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरेको छ । छ किलोमिटर २०० मिटर लामो सुरुङमध्ये हालसम्म एक हजार ७८० मिटर निर्माण सकिएको छ ।

    पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट र सुरुङको ब्रेक थ्रु भएको छ । अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित विसं २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।

    सिभिल ठेकेदार जेपीले विसं २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) ले पनि प्रारम्भिक चरणको काम गरी हाल विस्तृत डिजाइङको कामलाई अन्तिम चरणमा पुर्याएको छ ।

    राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा जोड्न लुप इन लुप आउट (लिलो) को चारवटा टावर तयार भएको राससले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology