नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुगुमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन ।
आज शोक शन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले दशैंको मुखमा मुगुमा भएको भयानक बस दुर्घटना र त्यसमा ३२ जना यात्रुको मृत्युको खबरले स्तब्ध बनाएको बताएका छन ।
कास्की, अछाम लगायत देशका विभिन्न भागहरुमा भएका सडक दुर्घटनाका खबरले थप मर्माहत बनाएको शोक विज्ञप्तीमा उल्लेख छ ।
प्रचण्डको शोक विज्ञप्तीमा भनिएको छ, ‘दुर्घटनामा ज्यान गुमाउनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु । साथै, दुर्घटनामा परी घाइते हुनुभएकाहरुमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ती र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग विशेष आग्रह गर्दछु ।’
नेपालका सडकको दुरावस्था, सवारीको अवस्था, चाप, सक्षम जनशक्तिको अभाव र सरोकारवाला निकायबाट निगरानी नहुँदा दिनदिनै यसप्रकारका सवारी दुर्घटनाका घटनाहरु बढ्दै गएको भन्दै अध्यक्ष प्रचण्डले दुःख व्यक्त गरेका छन ।
यस प्रकारका घटना न्यूनीकरण गर्न सम्बन्धित स्थानीय निकाय, प्रदेश र सिंगो राज्यलाई विशेष ध्यान पुर्याउन अध्यक्ष प्रचण्डले आग्रह गरेका छन ।
