कुवेत - प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कुवेतको आयोजनामा यही २१ अगस्ट २०२६, शुक्रबारका दिन पाँचौँ राष्ट्रिय अधिवेशन आयोजना हुने भएको छ ।
कुवेतको फर्वानियास्थित सेफ नौसाद सिग्नेचर रेस्टुरेन्टको सभाहलमा आयोजना हुने उक्त अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मध्यपूर्व इन्जार्ज रविन्द्र अधिकारी र सङ्घीय सांसद क्षितिज थेबेले सम्बोधन गर्ने आयोजक कमिटीले जनाएको छ । अधिवेशनको उद्घाटन समारोहलाई विशेष भव्य बनाउने तयारी भइरहेको छ ।
यस अधिवेशनले सङ्गठनको साङ्गठनिक सुदृढीकरणका साथै आगामी कार्यकालका लागि नीति तथा कार्यदिशा तय गर्नेछ। साथै, अधिवेशनमार्फत मञ्चको नयाँ नेतृत्वसमेत चयन गरिनेछ। साङ्गठनिक एजेन्डाका अतिरिक्त कुवेतमा कार्यरत प्रवासी नेपाली समुदायले भोग्नुपरेका समसामयिक मुद्दा, श्रम तथा रोजगारका समस्या र विभिन्न सामाजिक विषयहरूमा गहन छलफल गरी निष्कर्ष निकालिने आयोजकले जानकारी दिएको छ।
कुवेतमा रहेका प्रवासी नेपालीहरूलाई एकीकृत गर्दै उनीहरूका हकहितका लागि कार्य गर्दै आएको प्रवासी नेपाली मञ्चले यस अधिवेशनलाई एकता र सहकार्यको मञ्चका रूपमा अघि बढाउन खोजेको छ । कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल पार्नका लागि प्रवासी नेपाली मञ्च कुवेतले कुवेतस्थित नेपाली राजदूतावासका प्रतिनिधि, यहाँ क्रियाशील विभिन्न सङ्घ-संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, बुद्धिजीवी तथा सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिका लागि हार्दिक अपिल गरेको छ।