Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

महिला अधिकारकर्मी आन्दोलनः राष्ट्रपति र प्रधानमन्त्री भेट्न सारै महँगो

महिला अधिकारकर्मी आन्दोलनः राष्ट्रपति र प्रधानमन्त्री भेट्न सारै महँगो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १, २०७८ सोमवार • ०९:४३:१० बजे
  • 955
    SHARES
  • महिला अधिकारकर्मी आन्दोलनः राष्ट्रपति र प्रधानमन्त्री भेट्न सारै महँगो

    काठमाडौंको माइतीघरस्थित सडकको भित्तामा टाँगिएको एउटा ब्यानर बोल्छ– ‘महिलाको हत्या, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरू होसियार, मौन बस्ने सरकार खबरदार !’ ब्यानरको एकापट्टि पिठ्युँभरि नीलडाम देखिने नन्कुन्नी धोबीको तस्बिर छ ।

    images

    छेउमा लेखिएको छ, ‘घरेलु हिंसापीडित नन्कुन्नी धोबी र विधवा निर्मला कुर्मी हत्याका दोषीलाई पक्राउ गरी कारबाही गरियोस् ।’ भुइँमा बसेका छन्– बाँकेका महिला अधिकारकर्मी र मृतकका आफन्त । कोही सुतिरहेका, कोही बसेरै निदाइरहेका ।

    सबै थकित । नेपालगन्जदेखि पैदलै आउँदा खुट्टामा उठेका पानीफोका फुटेर चहर्‍याइरहेका घाउको पीडा उनीहरूको अनुहारमा झल्किरहेको छ । १३ महिलासहित १७ जनाको टोली बिहान ११ नबज्दै ब्यानर टाँगेर धर्ना बस्छन् ।

    बेलुका ५ बजेपछि ब्यानर पोको पारेर आश्रय खोज्दै दगुर्छन् । माइतीघरमा ११ दिनदेखि बसेका उनीहरूको पछिल्लो संघर्ष ५० दिन देखिको हो । एकातिर प्रहरीको धरपकड, अर्कोतिर आन्दोलनबाट फिर्ता हुन पीडकहरूकोधाकधम्की ।

    लामो संघर्षले सबैको शरीर गलिसकेको छ तर महिला हिंसाका कारण ज्यान गुमाएका र बेपत्ता पारिएका धोबी र कुर्मीको न्यायका निम्ति खबरदारी गर्दै उठेको उनीहरूको आवाज अझै जोडदार छ ।

    सरकारको मौनता तोड्न उनीहरूले नेपालगन्जमै जिल्ला प्रहरी कार्यालयअगाडि १९ दिनसम्म धर्ना दिए । जिल्ला प्रशासनले नसुनेपछि बुटवलमा मुख्यमन्त्रीलाई भेटेर हारगुहार गरे । तर न्याय पाउने विश्वास नभएपछि हिँडेर उनीहरू काठमाडौं आइपुगेका हुन् ।

    २० दिन पैदल यात्रापछि काठमाडौं आउँदै गर्दा उनीहरूले भनेका थिए, ‘गृहमन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेर हाम्रो आवाज सुनाउँछौं ।’ तर, बालुवाटार र शीतल निवासले अहिलेसम्म चासो दिएको छैन । २४ असोजमा उनीहरूलाई गृहमन्त्री बालकृष्ण खाँणले बोलाएर आन्दोलन स्थगित गरे छानबिन गर्ने सर्त राखेका थिए ।

    यसका लागि उनीहरूले मन्त्रीबाट लिखित प्रतिबद्धता मागेका थिए । तर गृहमन्त्रीले न लिखित प्रतिबद्धता जनाए न छानबिन समिति नै बनाए ।

    बरु प्रहरीले उनीहरूको आवाजलाई दबाउन धरपकड गर्ने, हिरासतमा लिने र झूटो मुद्दा चलाउनेसम्मको कोसिस गरिसकेको छ । २२ असोजमा माइतीघरमा आएका उनीहरूलाई त्यही दिन प्रहरीले उठाएर एक रात हिरासतमा राख्यो ।

    आन्दोलनको नेतृत्व गरिरहेकी रुबी खानलाई त नेपालगन्ज नै पुर्‍यायो । झूटो मुद्दा लगाउन उद्यत प्रहरीले सर्वोच्चको आदेशपछि छैटौं दिन बिहीबार हिरासतमुक्त गरेको हो ।

    ९ दिनअघि हिरासतबाटै भोक हडताल थालेकी रुबीको स्वास्थ्य बिग्रिएपछि शनिबारै त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ । ‘रुबी दिदी अस्पतालमा पनि अनशन बस्नुभएको छ, हामीले माइतीघरबाट धर्ना दिइरहेका छौं,’।

    महिला अधिकार मञ्च बाँकेकी सदस्य सकिना तेलीले भनिन्, ‘हामीले गृहमन्त्रीलाई भेटेर माग राख्यौं, सुनुवाइ भएन । तर हामी थाकेका छैनौं । जबसम्म हाम्रो माग पूरा हुँदैन तबसम्म निरन्तर धर्ना दिइरहन्छौं ।’

     समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology