वाग्मती प्रदेशमा सत्ता समीकरण टुंगोमा पुर्याउन विपक्षी गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठक बसिरहेको छ । हेटौँडामा अहिले नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ, नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डे र नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जमरकट्टेलबीच छलफल भइरहेको छ ।
कांग्रेस संसदीय दलका एक पदाधिकारीका अनुसार केन्द्रीय सत्तारूढ गठबन्धनले सहमति जुटाउन नसकेपछि प्रदेश गठबन्धनमा सहमतिको प्रयास भइरहेको हो ।
यसअघि, बुधबार साँझा वाग्मती प्रदेशको समीकरण टुंगो लगाउन प्रधानमन्त्री शेरबाहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो । तर, बैठकले सहमति जुटाउन नसकेपछि निर्णयको जिम्मा प्रदेशलाई दिइएको छ । वाग्मतीमा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने चर्चा छ ।
प्रधानमन्त्री देउवाले ८८ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्दा पनि प्रदेश नम्बर–१ र वाग्मती प्रदेशको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति भएको अध्यक्ष नेपालले पार्टी बैठकमा ‘बिफ्रिङ’ गरेका थिए । तर, कांग्रेसले पनि मुख्यमन्त्री नछोड्ने अडान राखिरहेको छ ।
यस्तै बागमती प्रदेशसभाको बैठकमा नेकपा एमाले सहभागी हुने भएको छ । तर बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजे बस्ने गरी सारिएको छ ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि बिहीबार प्रदेशसभा बैठक आह्वान गरिएको हो । बुधबार एमालेले प्रदेशसभा बैठक केही दिन पर सार्न सभामुख सानुकुमार श्रेष्ठलाई पत्रसहित आग्रह गरेको थियो ।
तर, विपक्षी दलहरूको विरोधका कारण सभामुख श्रेष्ठले बैठक निर्धारित मितिमै बस्ने जवाफ दिएपछि एमालेले बैठकमा सहभागी हुने निर्णय गरेको हो ।
मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा आज हने भनिएको मतदानको सम्भावना भने कम रहेको छ । सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार मन्त्री केशवराज पाण्डेले प्रदेशसभा आह्वान भएपछि उपस्थित नहुने भन्ने कुरै नआउने बताउँदै बैठकमा सहभागी हुने बताए ।
संसद् स्वतन्त्र हुने बताउँदै उनले कुनै दलको लागि संसद्को बैठक सार्ने भन्ने कुरा नहुने बताए । उनले भने, ‘त्यसैले हाम्रा उपलब्ध भएका सबै सांसद आजको बैठकमा उपस्थित हुनुहुन्छ ।’