भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न नहुँदा त्यसको फाइदा भारतलाई हुने देखिएको छ । भारतले लुम्बिनीबाट १३३ किलोमिटर दूरी कुशीनगरमा विमानस्थल बनाएपछि त्यसको असर नेपालमा पर्ने देखिएको हो । लुम्बिनी आउने तेस्रो मुलुकका धेरैजसो पर्यटक भारतीय बाटो हुँदै आउने गरेका छन् ।
भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै बनेको भए उनीहरु सिधैँ लुम्बिनी आउँथे । पर्यटकहरुको सिधा आगमन नेपालमा रोक्नका लागि भारतले लुम्बिनीदेखि नजिकै अन्तर्राष्ट्रिय विमानस्थल बनाएर आफ्नो देशको पर्यटन प्रवर्द्धन गर्न खोजेको पर्यटन व्यवसायी सञ्जय बजिमय बताउँछन् ।
भैरहवा विमानस्थल समयमै बनेको भए बुद्ध सर्किट घुम्न आउने पर्यटक पहिला लुम्बिनी आएर कुशीनगर जान सक्थे । यसले नेपाली टुर अपरेटर, होटलहरुले प्रत्यक्षरुपमा बढी फाइदा लिन सक्थे । चार वर्षअघि नै सम्पन्न गरिसक्नुपर्ने भनिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कहिलेबाट सञ्चालनमा आउँछ भन्ने अझै टुंगो छैन ।
सरकारी अधिकारीले काम ढिला हुनुमा कोभिडलाई कारण देखाएका छन् । लुम्बिनी घुम्न आउने पर्यटकलाई लक्षित गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बढाइएको हो ।
आर्थिक वर्ष २०७२/७३ मा सुरु गर्दा तीन वर्षभित्र सम्पन्न गर्ने भनिएको थियो । त्यो समय गुज्रिएर चार वर्ष बितिसकेको छ । तर काम अझै सकिएको छैन । बजेटका कारण काम सुस्त भएको भने होइन ।
करिब ३१ अर्ब लागेको यो आयोजना ढिलाइ हुनुमा कोभिड नै मुख्य कारण रहेको विमानस्थलका अधिकारीहरु बताउँछन् । विमानस्थल आयोजनाले करिब ९८ प्रतिशत भौतिक प्रगति भएको भनेको छ । तर, विमानस्थल कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने कुराको टुंगो छैन ।
आयोजनाका प्रमुख प्रवेश अधिकारीले सम्झौता अनुसार विदेशबाट आउनुपर्ने निर्माण व्यवसायीहरु नआउँदा समय लागेको बताए । सञ्चालनपूर्व गरिने परीक्षण उडानको पनि टुंगो लागेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणले क्यालिब्रेसन फ्लाइटका लागि भारतलाई औपचारिक आग्रह गरेको छ ।
भैरहवामा एयर थाइले क्यालिब्रेसन फ्लाइट गर्ने भनिए पनि भारतले सहमति नदिँदा परीक्षण उडान हुन सकेको छैन । नेपालमा विमानस्थल निर्माणमा ढिलाइ हुनु र सीमा नजिकै ठुला विमानस्थल निर्माण हुनुले लुम्बिनीलाई असर गर्न सक्ने नेपाल टुर्स एन्ड ट्राभल एजेन्टका प्रवन्ध निर्देशक समेत रहेका बजिमयको तर्क छ ।
‘नेपालले विमानस्थल समयमै निर्माण गर्न नसक्नु र भारतले बौद्ध क्षेत्रमा धमाधम विमानस्थल बनाउनुले भारतलाई फाइदा पुग्ने देखिन्छ,’ उनले भने ।
श्रीलंकाको राजधानी कोलम्बोबाट एक सय ५० जना सन्त तथा प्रतिष्ठित व्यक्तिहरुलाई लिएर आएको जहाजलाई अवतरण गराएर कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलको उदघाटन गरिएको थियो ।