आइतबार भद्रपुर विमानस्थल हुँदै गृहजिल्ला झापा आइपुगेका नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सीधैँ पिता मोहनप्रसाद ओलीको घर पुगे । जहाँ ९३ वर्षीय पिताका साथै भाइ जयप्रकाश र बुहारीको परिवार बस्छ ।
अध्यक्ष ओली जहिल्यै झापा आउँदा पिता भेट्न भद्रपुर–१ स्थित पृथ्वीनगरको घरमा पुग्छन् । २०५४ सालपछि बनेको दुई तले घरमा ओली आउँदा छरछिमेकदेखि नेता कार्यकर्ताको चहलपहल हुन्छ ।
यसपालि त्यस्तै चहलपहल थियो । घरमा बुढा बा भएकाले उनका समकालीन एवं संगतमा रहेका वृद्ध पनि ओली आउने भनेपछि भेला भएका थिए ।
भद्रपुर विमानस्थलबाट घर पुगेपछि ओलीले झण्डै पौने घण्टा बुवा तथा छरछिमेकसँग भेटघाटमा बिताए । ओलीले परिवारका सदस्यदेखि छिमेकी र नेता कार्यकर्तासँग हालखबर सोध्नेदेखि फोटो खिचाउनेसम्म सहज रुपमा गरे ।
एकातिर ओली थिए भने अर्कोतिर उनका पिता मोहन बसेर भलाकुसारी गरे । ओलीलाई भेटेका छरछिमेकको भनाइमा ओलीले सञ्चोबिसञ्चो हाल खबर सोधेका थिए । उपस्थित स्थानीयका गुनासा पनि सुनेका थिए ।
वृद्ध छिमेकी कर्णबहादुर कार्कीले ओलीले सञ्चो÷विसञ्चो सोधेको बताए । छिमेकी मन्दिरा कोइरालाले पनि ओली जहिल्यै आउँदा भेट हुने गरेको र गाउँलेका गुनासो सुन्ने गरेको बताइन् । पिता मोहनप्रसादले केपीले राम्रै छ भनेर सोधेको बताए ।
आफ्नो छोरासँग बेलाबेला कुरा हुने गरेको र काठमाडौं बोलाउने गरेको बताए । ‘तर म काठमाडौ जान्न । उता घुम्न पाइन्न । घरभित्रै थुनिनुपर्छ । यहाँ घुम्न पाइन्छ । ओखती उपचारमा सहयोग गर्नुपर्छ ।
छोरासँग बेलाबेला फोनमा कुरा हुन्छ । काठमाडौं बोलाउँछ । तर मलाई यतै ठिक लाग्छ । यता एक्लै डुल्न पाइन्छ । उता निस्किन पनि पाइँदैन,’ उनले सुनाए ।
मोहनले केपी ओली फेरि प्रधानमन्त्री बन्ने योग रहेको पनि बताए । ‘मेरो आशिर्वाद पनि छ । भएपछि अब ५ वर्षलाई हुन्छ । फागुनपछि हुने योग छ । एमाले पहिलो पार्टी हुन्छ । एकदम राम्रो योग छ ।
सफल होस्, मेरो शुभकामना छ,’ उनले भने । मोहनले छोरा फेरि प्रधानमन्त्री हुने बताइरहँदा घरभित्रबाट निस्किएका अध्यक्ष ओलीले ‘बुवा म जान्छु है’ भनेर नमस्ते ढोग गरेर विदा भए । मोहनले राम्ररी गएस् भनेर आशिर्वाद दिए ।