Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

धानबालीमा सवा आठ अर्ब रूपैयाँ बराबरको क्षति

धानबालीमा सवा आठ अर्ब रूपैयाँ बराबरको क्षति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ८, २०७८ सोमवार • ११:१४:२५ बजे
  • 1.1K
    SHARES
  • धानबालीमा सवा आठ अर्ब रूपैयाँ बराबरको क्षति

    धान भित्र्याउने बेलाको वर्षा र बाढीपहिरोले मुलुकभर धानबालीमा सवा आठ अर्ब रूपैयाँ बराबरको क्षति भएको छ। गत साताको वर्षाले काटेर सुकाएको धान डुबेर नष्ट हुनुका साथै काट्न तयारी अवस्थामा रहेको धानमा समेत क्षति पुगेको थियो।

    images

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकका सातै प्रदेशमा गरी धानबालीमा ८ अर्ब २६ करोड ८० लाख रूपैयाँ बराबर क्षति पुगेको हो। मन्त्रालयका अनुसार सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा भएको छ।

    लुम्बिनी एक्लैमा ४ अर्ब ५१ करोड बराबरको धान नष्ट भएको छ। यो कुल क्षतिको आधाभन्दा धेरै हो। लुम्बिनीपछि सबैभन्दा बढी क्षति सुदूरपश्चिम क्षेत्रमा एक अर्ब ९१ करोड रूपैयाँ बरारबरको क्षति भएको हो।

    सबैभन्दा कम क्षति बाग्मतीमा ५ करोड ८० लाख रूपैयाँ बराबरको छ। मन्त्रालयका अनुसार सातै प्रदेशमा गरी ३ लाख २५ हजार २ सय ५८ मेट्रिक टन धान नष्ट भएको छ।

    वर्षाले बढी क्षति पुर्‍याएका जिल्लामा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, सर्लाही, चितवन, नुवाकोट, नवलपरासी, स्याङ्जा, रूपन्देही, बर्दिया, कपिलवस्तु, बाँके, सुर्खेत, डोल्पा, जुम्ला, सल्यान, कैलाली र कञ्चनपुर छन्।

    मन्त्रालयले गरेको अध्ययनले बेमौसमी वर्षाले तीन प्रदेशका १५ जिल्लाको धानखेती बढी प्रभावित भएको देखाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा बढी क्षति बेहोर्नेमा लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रुकुम पूर्व, प्युठान जिल्ला छन्। लुम्बिनी प्रदेशमा एक लाख ६१ हजार २ सय २३ मेट्रिक टन धान क्षति भएको हो।

    मन्त्रालयका अनुसार बर्दियामा ४८ हजार चार सय ६८ टन, कपिलवस्तुमा ४० हजार ६ सय ४५ मेट्रिक टन, रूपन्देहीमा २४ हजार तीन सय ६१, नवलपरासीमा चार हजार एक सय २८, दाङमा १० हजार सात सय ४५, प्युठानमा चार हजार चार सय ३५ र पाल्पामा ६ सय ७८ मेट्रिक टन धान क्षति भएको छ।

    मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा बढी क्षति भएको छ। कैलालीमा करिब ५४ प्रतिशत र कञ्चनपुरमा करिब ४२ प्रतिशत क्षति भएको छ। कैलालीमा ७० हजार र कञ्चनपुरमा ४४ हजार हेक्टर क्षेत्रफलमा धान खेती छ। कैलाली र कञ्चनपुर धान खेतीका लागि पकेट क्षेत्र हुन्।

    कैलालीमा ३ लाख ४० हजार मेट्रिक टन र कञ्चनपुरमा १ लाख ८७ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको थियो। बेमौसमी वर्षाले सुदूरपश्चिम प्रदेशको धान उत्पादनमा ५० प्रतिशत कमी आउने अनुमान छ।

    दसैंपछि किसानले धान काटेर भित्र्याउने तयारी गरेको बेला अचानक पानी परेका कारण धानबालीमा बढी क्षति भएको हो। धेरै किसान कान काटेर भित्र्याउने तयारीमा थिए। काटेको धान कतिपय ठाउँमा बगेको छ।

    डुबानमा परेर भिजेको धान खेतमै उम्रन थालेको छ। पाकेर काट्ने बेला भएको धान ढलेर नष्ट भएको छ। प्रदेश १ मा बाढीले पनि धानबालीमा क्षति पुर्‍याएको छ। अन्नको भण्डार मानिने प्रदेश नम्बर २ मा भने बढी क्षति पुगेको छैन। यो प्रदेशमा ८० करोड बराबरको क्षति भएको छ।

    यो समाचार नागरिक दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology