पोखरा । नेपाल बार एसोशिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पदबाट राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ । नेपाल बारले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीशले पदबाट राजीनामा नदिए देशव्यापी आन्दोलन घोषणा गर्ने निर्णय गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान गतिरोधको अन्त्य गरी सहज निकास दिन सम्मानननीय प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराज्यूले अविलम्व राजीनामा दिई मार्गप्रशस्त गर्नु नै उपयुक्त हुन्छ भनी नेवाएको सल्लाहकार समितिको बैठकको सुझाव समेतका आधारमा नेबाएको मिति २०७८०७०५ गतेदेखिको निरन्तर बैठकको निर्णयअनुसार उहाँलाई पद त्याग गर्न आह्वान गर्दछौं ।’
प्रधानन्यायाधीशले सहकर्मी न्यायाधीश समेतको विश्वास जित्न नसकेको, एकपछि अर्को विवादमा तानिएको र त्यस्तो विवादले समग्र न्यायपालिकाको प्रतिष्ठा र गरिमामा गम्भीर आँच आई स्वतन्त्र न्यायपालिका प्रति नै गम्भीर प्रश्न उठेकोले अव उप्रान्त उनले संवैधानिक दायित्व पूरा हुन नसक्ने बारको निष्कर्ष छ ।
यसैगरी न्यायपालिकामा राजनीतिक हस्तक्षेप बढ्दै जानुमा नेपालको संविधानमा भएका सर्वोच्च अदालतका न्यायाधीशको संसदीय सुनुवाइ सम्बन्धी व्यवस्था, संवैधानिक परिषद्मा प्रधान न्यायाधीशको संलग्नताको व्यवस्था, न्याय परिषद्को संरचना सम्बन्धी व्यवस्था लगायतका व्यवस्थाहरु पनि जिम्मेवार भएको बारले विज्ञप्तिमार्फत भनेको छ ।
न्यायपालिकाको नेतृत्वमा रहेको व्यक्तिहरुलाई कार्यपालिकामा भाग दिन र न्यायाधीशहरुलाई मानपदवी समेत दिइ न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामा प्रभाव पार्न खोज्ने सरकार र राजनीतिक दलहरुको कार्यप्रति बारले विज्ञप्तिमार्फत त्यसको विरोध जनाएको छ ।
न्यायाधीश हरिकृष्ण कार्की संयोजक रहेको समितिको प्रतिवेदनले औल्याएअनुसार कामकारवाही नभएको प्रति असन्तुष्टि पोखेको छ ।
विज्ञप्तिमा प्रतिवेदनअनुसार पेशी व्यवस्थापन, वेञ्च गठन लगायतका कुरामा प्रधानन्यायाधीले चासो नदिएको भनिएको छ ।