पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली प्रतिनिधि मण्डलकाे नेतृत्व गरी भाेलि (शुक्रवार) बेलायतकाे भ्रमणमा जाँदै हुनुहुन्छ ।
राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने विश्व नेताहरुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री भाेलि बेलायत जान लाग्नुभएकाे हाे।
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको भ्रमण तालिका सार्वजनिक गरेको छ ।
अक्टोबर ३० मा प्रधानमन्त्रीले सर्वदलिय संसदीय समूह र नेपाल-बेलायत व्यापार तथा लगानी मञ्चले लन्डनमा आयोजना गर्ने कार्यक्रममा भाग लिने र सम्बोधन गर्नुहुने छ।
३१ अक्टोबरमा देउवाले बेलायत-नेपाली समाज, गैरआवासीय नेपाली संघ र नेपाली समुदायका प्रतिनिधिसँग भेट्ने कार्यक्रम छ । सोही दिनमा बेलायतका लागि नेपाली कार्यवाहक राजदूतले लन्डनमा आयोजना गर्ने रिसेप्सनमा भाग लिनुहुने छ।
साेही अवसरमा उहाँले नेपाली डायस्पोरा र बेलायती संसदका ब्रिटिस-गोर्खा संस्थाका प्रतिनिधिलाई पनि भेट्ने कार्यक्रम छ ।
नोभेम्बर १ मा प्रधानमन्त्री देउवा कोप-२६ सम्मेलनमा भाग लिनुहुने छ । विश्व नेताहरुले भाग लिने उक्त सम्मेलनमा देउवाले नेपाली मुद्दाहरु सहित सम्बोधन गर्ने कार्यक्रम छ ।
नोभेम्बर २ को बिहान बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र सांसदहरुले सरकार प्रमुखहरुको सम्मानमा आयोजना गर्ने ब्रेक फास्टमा देउवा सहभागी हुनुहुने छ । सम्मेलनको साइडलाइनमा देउवाले विभिन्न मुलुकका सरकार प्रमुखहरुसँग भेट्ने कार्यक्रम छ ।
नोभेम्बर ३ मा देउवाले एडिनबर्गस्थित रोयल बोटानिकल गार्डेनको अवलोकन गर्ने कार्यक्रम छ । त्यहाँ उपस्थित भएकालाई सम्बोधन गर्ने कार्यक्रम समेत छ । त्यहाँस्थित नेपाली बगैंचामा देउवाले वृक्षारोपणसमेत गर्ने कार्यतालिका रहेकाे छ।